काठमाडौं । कप्तान तथा फरवार्ड किलियन एम्बाप्पेले दुई गोल गरेपछि फिफा विश्वकप-२०२६ अन्तर्गत भएको समूहचरणको खेलमा फ्रान्स विजयी भएको छ । मंगलबार बिहान भएको खेलमा इराकलाई ३-० गोलले पराजित गर्दै फ्रान्स अन्तिम ३२ मा पुगेको हो ।
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एम्बाप्पेले दुई गोल गर्दा ओउस्माने डेम्बेलेले एक गोल गरे । खेलको १४ औँ मिनेटमा मिचेल ओलिसेको पासमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई शुरुवाती अग्रता दिलाएका थिए । खराब मौसमका कारण पहिलो हाफपछि झन्डै डेड घण्टापछि ढिलो भएको खेलको ५४ औँ मिनेटमा डेम्बेलेको पासमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २-० गोलको अग्रता दिलाएका हुन् ।
६६ औँ मिनेटमा ओलिसेकै पासमा डेम्बेलेले गोल गर्दै फ्रान्सलाई ३-० को सहज स्थितिमा ल्याएका थिए । बाँकी समयमा थप गोल हुन नसक्दा फ्रान्स ३-० गोलले विजयी भएको हो ।
जितसँगै फ्रान्स २ खेलबाट ६ अंक जोड्दै समूह ‘आई’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट अंक विहीन इराक पुछारमा रहेको छ ।
