जर्मनी फिफा विश्वकपको अन्तिम ३२ मा

काठमाडौं । जर्मनी फिफा विश्वकप-२०२६ को अन्तिम ३२ मा पुगेको छ । आइतबार बिहान भएको खेलमा इभोरी कोस्टलाई २-१ गोलले पराजित गर्दै जर्मनीले नकआउट चरणमा आफ्नो स्थान पक्का गरेको हो । टोरोन्टो स्टेडियममा भएको खेलमा जर्मनीलाई जित दिलाउन वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका डेनिज उन्डाभले दुई गोल गरे । इभोरी कोस्टको लागि फ्रान्क कस्सिएले एक गोल गरे ।

खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा इभोरी कोस्ट पराजित हुन पुगेको हो । पहिलो हाफको ३० औँ मिनेटमा कस्सिएले गोल गर्दै इभोरी कोस्टलाई शुरुवाती अग्रता दिलाएका थिए । ६८ औँ मिनेटमा उन्डाभले गोल गर्दै जर्मनीलाई १-१ गोलको बराबरीमा ल्याए । मैदान छिरेको आठ मिनेटमै उनले गोल गरेका हुन् ।

यस्तै इन्जुरी समयको चौथो मिनेटमा उन्डाभले व्यक्तिगत दोस्रो गोल गर्दै जर्मनीलाई २-१ गोलको जित दिलाएका हुन् ।

जितसँगै जर्मनी २ खेलबाट ६ अंक जोड्दै अंक समूह ‘ई’को शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ३ अंक जोडेको इभोरी कोस्ट दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *