काठमाडौं । फिफा विश्वकप-२०२६ मा आज राति दुई र भोलि बिहान दुई खेल हुँदैछ । आज राति हुने समूह ‘एफ’को खेलमा नेदरल्यान्ड्स र स्विडेन भिड्नेछन् । होउस्टन स्टेडियममा हुने खेल राति १०:४५ बजे शुरु हुनेछ ।
पहिलो खेलमा टुनिसियालाई ५-१ गोलले हराएको स्विडेन आज नेदरल्यान्ड्सलाई हराउँदै एक खेल अगावै नटआउट चरणमा पुग्ने लक्ष्यमा रहेको छ भने नेदरल्यान्ड्स पहिलो जितको खोजीमा हुनेछ । नेदरल्यान्ड्स पहिलो खेलमा जापानसँग २-२ गोलको बराबरीमा रोकिएको थियो ।
समूह ‘ई’ अन्तर्गत हुने खेलमा जर्मनीलाई इभोरी कोस्टले आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ । टोरोन्टो स्टेडियममा हुने खेल राति १२:४५ बजे शुरू हुनेछ । दुवै टोली आज जित निकाल्दै नकआउट चरणको टिकट काट्ने लक्ष्यमा हुनेछन् ।
जर्मनीले पहिलो खेलमा कुराकाओमाथि ७-१ गोलको फराकिलो जित निकालेको थियो भने इभोरी कोस्टले इक्वेडरलाइ १-० गोलले हराएको थियो ।
भोली बिहान हुने समूहको अर्को खेलमा इक्वेडर र कुराकाओ आमने-सामने हुनेछन् । कान्सास सिटी स्टेडियममा हुने खेल बिहान ५:४५ बजे शुरु हुनेछ ।
यस्तै भोलि बिहान हुने समूह ‘ए’को दोस्रो खेलमा जापान र टुनिसिया भिड्नेछन् । मोन्टेरी स्टेडियममा हुने खेल बिहान ९:४५ बजे शुरु हुनेछ । दुवै टोली जित निकाल्दै नटआउट चरणमा पुग्ने सम्भावना जीवित राख्न चाहन्छन् ।
