काठमाडौं । फिफा विश्वकप २०२६ मा ब्राजिलले पहिलो जित निकालेको छ । शनिबार बिहान भएको खेलमा हाइटीलाई ३-० गोलले हराउँदै ब्राजिलले नकआउट चरणमा पुग्ने सम्भावनालाई बलियो बनाएको हो ।
फिलाडेल्फिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जित दिलाउन माथेउस कुन्हाले दुई र भिनिसियस जुनियरले एक गोल गरे । खेलको २३ औँ मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई शुरुवाती अग्रता दिलाएका थिए । ३६ औँ मिनेटमा भिनिसियस जुनियरको पासमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिलको अग्रता दोब्बर बनाए ।
इन्जुरी समयमा लुकास पाकिएटाको पासमा भिनिसियसले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा ३-० गोलको अग्रता दिलाएका थिए । दोस्रो हाफमा दुवै टोलीवाट थप गोल हुन नसक्दा ब्राजिल ३-० गोलले विजयी भएको हो ।
जितसँगै ब्राजिल दुई खेलबाट ४ अंक जोड्दै समूह ‘सी’को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट अंक विहीन हाइटी चौथो स्थानमा रहेको छ ।
