काठमाडौँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले चीनका विदेशमन्त्री वाङ यीसँग भेटवार्ता गरेका छन् । सोमबार साँझ भएको भेटका क्रममा आफूहरुबीच नेपाल–चीन द्विपक्षीय सम्बन्धका समग्र पक्षबारे विस्तृत छलफल भएको परराष्ट्रमन्त्री खनालले जानकारी दिएका छन् ।
छलफलमा पारवहन तथा कनेक्टिभिटी, सीमा व्यवस्थापन, व्यापार, प्रविधि हस्तान्तरण र बहुपक्षीय सहकार्यका विषय समेटिएका थिए । दुवै पक्षबीच जनस्तरको सम्बन्ध विस्तार गर्ने उपायबारे पनि विचार आदानप्रदान भएको उनले बताए ।
साथै, नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउँदै दुवै देशको साझा हित र पारस्परिक लाभका लागि सहकार्यलाई अझ मजबुत बनाउने प्रतिबद्धता पुनः व्यक्त गरिएको छ ।



