अमेरिका–इरानबीच शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको द्वन्द्व अन्त्य गर्ने शान्ति सम्झौतामा आज हस्ताक्षर हुने दाबी गरेका छन्। यद्यपि इरानले भने सम्झौता हस्ताक्षरको समयसीमाबारे अझै स्पष्ट नभएको जनाएको छ।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सम्झौतापछि विश्व व्यापारका लागि महत्वपूर्ण हर्मुज जलडमरूमध्य सबैका लागि खुला हुने बताएका छन्। उनले सम्झौतामा आइतबार हस्ताक्षर हुने तालिका रहेको उल्लेख गर्दै त्यसलगत्तै जलमार्ग सञ्चालनमा आउने बताएका हुन्।

यसअघि इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौता हस्ताक्षरको मितिबारे निश्चित हुन अझै प्रतीक्षा गर्नुपर्ने बताएका थिए। उनले सम्झौता भोलि नै हुने सम्भावना नरहेको संकेत गरेका थिए।

शान्ति प्रक्रियामा मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप लिने अपेक्षा गरिएको जनाएको छ। पाकिस्तानी प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत शान्ति सम्झौता पहिलेभन्दा धेरै नजिक पुगेको र त्यसको विद्युतीय हस्ताक्षरको तयारी भइरहेको बताएका छन्।

इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले शुक्रबार अमेरिकासँगको सम्झौता अन्तिम चरणमा पुगेको बताएका थिए। उनका अनुसार प्रस्तावित सहमतिमा हर्मुज जलडमरूमध्य पुनः सञ्चालन गर्ने तथा इरानी बन्दरगाहमाथिको अमेरिकी नाकाबन्दी हटाउने व्यवस्था समावेश छ। आणविक कार्यक्रमसम्बन्धी वार्ता भने पछि सुरु हुने उनले बताएका छन्।

अमेरिकी अधिकारीहरूले पनि सम्झौताका केही पक्ष पुष्टि गर्दै इरानले आफ्ना दायित्व पूरा गरेमा मात्र आर्थिक लाभ प्राप्त गर्ने स्पष्ट पारेका छन्। फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि सुरु भएको द्वन्द्वका कारण हर्मुज जलडमरूमध्य प्रभावकारी रूपमा बन्द भएको थियो। अप्रिलमा युद्धविराममा सहमति भए पनि पछिल्ला महिनामा अमेरिका र इरानबीच छिटफुट सैन्य झडप र प्रतिआक्रमण जारी रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *