काठमाडौँ । नेकपा एमालेले पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका लागि गठन गरिएको कार्यदलमार्फत प्रदेशस्तरबाट सुझाव संकलन सुरु गरेको छ ।
पार्टी र जनताबीचको सम्बन्ध थप सुदृढ बनाउन आवश्यक रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझाव संकलन गर्न कार्यदल गठन गरिएको हो ।
एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार कार्यदलले आज बागमती प्रदेश संगठन कमिटीको समन्वयमा काठमाडौंबाट सुझाव संकलन अभियान सुरु गरेको हो ।
बागमती प्रदेश संगठन कमिटीको बैठक शुक्रबारदेखि सुरु भएको र बैठकपछि सुझाव संकलनका लागि भेला आयोजना गरिएको उनले जानकारी दिए ।
गत १० जेठमा सम्पन्न एमाले सचिवालयको आठौँ बैठकले उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । २६ जेठमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशस्तरमा सुझाव संकलन गर्ने कार्यतालिका निर्धारण गरेको थियो ।
कार्यतालिकाअनुसार २ असारमा कोशी प्रदेश, ४ असारमा लुम्बिनी प्रदेश, ६ असारमा सुदूरपश्चिम प्रदेश, ८ असारमा कर्णाली प्रदेश, ११ असारमा गण्डकी प्रदेश, १३ असारमा मधेस प्रदेश तथा १६ असारमा राजधानी विशेष प्रदेश र १७ असारमा सम्पर्क समन्वय विशेष प्रदेशमा सुझाव संकलन गरिनेछ ।
प्रदेशस्तरीय भेलामा सम्बन्धित भौगोलिक क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारी सहभागी हुनेछन् । कार्यदलले १८ असारमा जनसंगठन तथा १९ असारमा केन्द्रीय विभाग प्रमुख र विभिन्न निकायका पदाधिकारीसँग पनि सुझाव संकलन गर्नेछ ।
