सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा प्योङयाङमाथि ड्रोन उडानको आदेश दिएको आरोपमा दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योल र उनका पूर्व रक्षामन्त्री किम योङ ह्युनलाई शुक्रबार ३० वर्षको जेल सजाय सुनाइएको छ । यसअघि मार्सल ल लागू गरेको अभियोगमा आजीवन कारावासको सजाय पाइसकेका युनमाथि यो अर्को गम्भीर फैसला आएको हो ।
सियोल केन्द्रीय जिल्ला अदालतले सुनाएको फैसलाको पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । तर अदालतले यसअघि डिसेम्बर २०२४ मा अल्पकालीन मार्सल ल लागू गरेको घटनालाई विद्रोह ठहर गर्दै युनलाई आजीवन कारावासको सजाय सुनाइसकेको थियो ।
यो मुद्दाको आधार सन् २०२४ को अक्टोबरमा उत्तर कोरियाले लगाएको आरोप बनेको थियो । प्योङयाङले दक्षिण कोरियाले तीन पटक ड्रोन उडाएर आफ्नो राजधानीमाथि प्रचार सामग्री खसालेको दाबी गरेको थियो । त्यसबेला तत्कालीन रक्षामन्त्री किम योङ ह्युनले रक्षा मन्त्रालयले उक्त आरोपको पुष्टि वा खण्डन गर्न नसक्ने प्रतिक्रिया दिनुभएको थियो । घटनापछि दुई कोरियाबीचको तनाव तीव्र बने पनि प्रत्यक्ष सैन्य झडप भने भएको थिएन ।
विशेष अभियोजक चो युन–सुकको नेतृत्वमा भएको अनुसन्धानले युनले राजनीतिक विरोधीहरूलाई कमजोर पार्न र सत्ता आफ्नो नियन्त्रणमा केन्द्रित गर्न उत्तर र दक्षिण कोरियाबीच युद्धको वातावरण सिर्जना गर्ने प्रयास गरेको निष्कर्ष निकालेको थियो । अभियोजन पक्षले युनले अधिनायकवादी शैलीमा शक्ति विस्तार गर्ने योजनाअन्तर्गत ड्रोन अभियान सञ्चालन गराएको आरोप लगाएको थियो । यस्तै, मार्सल लको योजना बनाउन र सेना परिचालन गर्न सहयोग गरेको आरोपमा किम योङ ह्युनलाई पनि जिम्मेवार ठहर गरिएको छ ।
अभियोजन पक्षले युनका लागि ३० वर्ष र किमका लागि २५ वर्ष जेल सजायको माग गरेको थियो । अदालतले युनमाथि ३० वर्षको सजाय सुनाएको छ भने किमसम्बन्धी विस्तृत निर्णय सार्वजनिक हुन बाँकी रहेको जनाइएको छ ।
युनका कानूनी प्रतिनिधिहरूले भने फैसलाको आलोचना गरेका छन् । उनीहरूको भनाइमा ड्रोन उडान उत्तर कोरियाले सन् २०२४ को सुरुआतमा दक्षिण कोरियातर्फ हजारौँ फोहोर बोक्ने बेलुन पठाएको घटनाको प्रतिक्रिया थियो । उनीहरूले यस्तो निर्णयले दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा चासोलाई कमजोर पार्ने तर्क गरेका छन् । यद्यपि उनीहरूले फैसलाविरुद्ध अपिल गर्ने वा नगर्ने विषयमा तत्काल कुनै निर्णय सार्वजनिक गरेका छैनन् ।
युनले डिसेम्बर ३, २०२४ को राति राष्ट्रका नाममा टेलिभिजन सम्बोधन गर्दै मार्सल ल घोषणा गर्नुभएको थियो । त्यस क्रममा उहाँले विपक्षी उदारवादी सांसदहरूलाई उत्तर कोरियाप्रति सहानुभूति राख्ने ‘राज्यविरोधी शक्ति’ को संज्ञा दिनएका थिए। उनले विपक्षी दलले वरिष्ठ सरकारी अधिकारीहरूलाई महाभियोग लगाएको र सरकारको बजेट विधेयकमा कटौती गरेको विषयलाई आफ्नो कदमको प्रमुख कारणका रूपमा प्रस्तुत गरेका थिए।
तर मार्सल ल केवल करिब छ घण्टामात्र कायम रह्यो । सैनिक र प्रहरीको घेराबन्दी तोड्दै सांसदहरू राष्ट्रिय सभामा प्रवेश गरेका थिए र उक्त निर्णय खारेज गर्ने पक्षमा मतदान गरेका थिए । त्यसपछि मन्त्रिपरिषद् मार्सल ल फिर्ता लिन बाध्य भएको थियो ।
घटनापछि युनलाई तत्काल पदबाट निलम्बन गरिएको थियो । त्यसपछि संसद्बाट महाभियोग पारित भयो र संवैधानिक अदालतले उहाँलाई औपचारिक रूपमा पदमुक्त गरेको थियो । जुलाई २०२५ मा पक्राउ परेका युनविरुद्ध हाल पनि विभिन्न आपराधिक मुद्दाहरू विचाराधीन छन् ।
युनमाथिको विद्रोहसम्बन्धी सबैभन्दा गम्भीर मुद्दाको फैसला दुवै पक्षले चुनौती दिएका छन् । युन पक्षले सजायविरुद्ध अपिल गरेको छ भने अभियोजन पक्षले अझ कडा सजायको माग गर्दै मृत्युदण्ड हुनुपर्ने दाबी गरेको छ । पछिल्लो ३० वर्षको जेल सजायले भने दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा युनको पतनलाई थप गम्भीर बनाएको छ ।
