काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सचेतक खुश्बु ओलीले आफ्नो भारत भ्रमणमा परराष्ट्रमन्त्री शिशिर खनालले सीमा विवादको उच्चारणै नगर्नु दुःखद भएको बताएकी छन् ।
शुक्रबारको प्रतिनिधिसभा बैठकमा ओलीले नेपालको प्रेस नोटबाट सीमा विषय समावेश नभएको भन्दै आपत्ति जनाइन् । उनले दिल्ली भ्रमणका क्रममा भएका भेटवार्तामा परराष्ट्रमन्त्रीले कतै पनि सीमाको विषय नउठाएको बताइन् ।
उनले भनिन्, ‘काठमाडौंबाट दिल्ली जाँदा पछि बोल्छु भन्नुभएको थियो । दिल्लीको औपचारिक वार्तामा कतै सीमाको विषय उठाउनुभएन । नेपाली पक्षले निकालेको प्रेस विज्ञप्तिमा सीमा विवादको एक शब्द छैन । भ्रमण सकिएपछि दिल्लीमा पत्रकारसँग बन्द कोठामा केही कुरा राख्नुभयो । तर काठमाडौं फर्केपछि प्रेस नोटमा सीमा विवादबारे एक शब्द पनि छैन ।’
सीमा समस्या र सीमा व्यवस्थापन फरक विषय भएको भन्दै उनले परराष्ट्रमन्त्रीले सीमा विवादलाई छलेर सीमा व्यवस्थापनको मात्रै कुरा गरेको बताइन् ।
उनले भनिन्, ‘संसदमा पनि सीमा विवादको विषय नउठाएर सीमा व्यवस्थापनको नियमित काम, जंगेपिलर व्यवस्थापन र बैठकको विषय उठाउनुभएको छ । सीमा व्यवस्थापन र सीमा विवाद फरक कुरा हुन् । विगत ४ वर्षमा कुनै न कुनै रुपमा नेपालको प्रेस नोटमा सीमाको विषय जहिले पनि रहन्थ्यो । पहिलोपटक प्रेस नोटबाट हटेको छ,’ उनले भनिन् ।
सांसद ओलीले परराष्ट्रमन्त्री चीन जान लागेकाले त्यहाँ सशक्तरुपमा लिपुलेक र कालापानी हाम्रो हो भनेर प्रेस नोटमा उल्लेख गर्न आग्रह गरिन् ।
