काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करका दर हेरफेरमा लागेको आरोपको प्रतिवाद गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री वाग्लेले आरोप प्रमाणि भए पद त्याग्न तयार रहेको बताएका हुन् ।
उनले भने, ‘मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एकदुई वटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे । तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने मन्त्री पद त्यागिदिन्छु ।’
अर्थमन्त्री वाग्लेले यस्तै नैतिक आँट र नैतिक उचाइ आफूप्रति औंलो ठड्याउने सांसदहरुमा पनि हुनुपर्ने बताए । उनले भने, ‘तपाईंका काण्ड बारेमा हामी अनभिज्ञ हो र, ती पनि खुल्नेछन् ।’
उनले सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै जनतालाई धोका दिन नसक्ने बताए । उनले भने, ‘स्वर्णिम वाग्लेले कुटुकुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो भन्ने पनि सुनियो । सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौं र ?’
