काठमाडौं । नेपाल एसीसी महिला प्रिमियर कप २०२६ बाट नेपाल बाहिरिएको छ । बुधबार बिहान भएको क्वाटरफाइनल खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित हुँदै नेपाल एसिया कपमा छनोट हुन असफल भएको हो । जितसँगै थाइल्याण्ड एसिया कपमा छनोट भएको छ ।
जितको लागि १ सय ३१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ७४ रनमात्र बनाउन सक्यो । नेपालको लागि रुविना क्षेत्रीले २०, सोनी पाख्रिनले १५ तथा सम्झना कुमारी र सिता राना मगरले समान १२/१२ रन बनाए ।
थाइल्याण्डको लागि थिपात्चा पुत्थावांग, सुनिदा चतुरोंग्रात्ताना र सुलेपोर्न लाओमीले समान दुई/दुई विकेट लिँदा फानिता मायाले एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङमा उत्रिएको थाइल्याण्डले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३० रन बनाएको थियो । थाइल्याण्डको लागि नान्नापात खोन्चारोएनकीले अर्धसतक बनाइन् । उनले ५१ बलमा ६ चौका प्रहार गरिन् । यस्तै फान्निता मायाले २६ र चाइदा सुत्थिरुअंगले १६ रन बनाइन् ।
नेपालको लागि कविता कुँवर, रिया शर्मा र रुविना क्षेत्रीले समान एक/एक विकेट लिए ।
