एजेन्सी । फिफा विश्वकप बिहीबारबाट अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा शुरु हुँदैछ । गत संस्करणको विश्वकपको उपाधि जितेको अर्जेन्टिना यसपटक उपाधि रक्षा गर्ने लक्ष्यमा रहेको छ । हालसम्म इटाली र ब्राजिललेमात्र लगातार दुईपटक उपाधि जितेका छन् । तर सन् १९६२ पछि उपाधि रक्षा गर्न कुनैपनि टोली सफल भएका छैनन् । के लियोनल मेस्सीको कप्तानी रहेको अर्जेन्टिनाले यसपटकपनि चमत्कार गर्न सक्ला त ?
कतारमा विश्वकपको उपाधि जितेपछि प्रशिक्षक लियोनल स्कालोनीको नेतृत्वमा रहेको अर्जेन्टिनाले निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । अर्जेन्टिनाले अमेरिकामा आयोजित कोपा अमेरिका २०२४ को उपाधि जित्नुका साथै फिनालिसिमा २०२२ पनि आफ्नो नाममा गरेको थियो । साथै, टोलीले दक्षिण अमेरिकी छनोटअन्तर्गत कडा प्रतिस्पर्धाबीच अंकतालिकाको शीर्ष स्थानमा रहँदै विश्वकप छनोट यात्रा सहज रूपमा टुंग्याएको थियो ।
यद्यपि यी उपलब्धिहरूका बाबजुद पनि यस विश्वकपअघि अर्जेन्टिनलाई केही महत्वपूर्ण प्रश्न र चुनौतीहरू कायम छन् । लगातार सफलताबीच पनि टोलीको संरचना, खेलाडीहरूको अवस्था र उपाधि रक्षा अभियानसँग जोडिएका विभिन्न पक्षहरू चर्चाको केन्द्रमा रहेका छन् । यहाँ हामीले अर्जेन्टिनासामु रहेका केहि प्रमुख चुनौती र चासोका विषयहरूलाई केलाएका छौं।
शीर्ष टोलीविरुद्ध खेलको अभाव
यस विश्वकप चक्रमा अर्जेन्टिनाले सामना गरेका प्रतिद्वन्द्वीको स्तरलाई लिएर पनि प्रश्न उठेको छ । दक्षिण अमेरिकाका प्रमुख टोलीहरूसँग खेलेबाहेक साविक विश्वविजेता अर्जेन्टिनाले युरोपका शीर्ष र बलिया टोलीविरुद्ध निकै कम खेल खेलेको छ ।
कतार विश्वकप २०२२ अघि पनि यस्तै अवस्था देखिए पनि यसपटक यो अझ बढी देखिएको छ । प्रतिस्पर्धात्मक खेलबाहेक अर्जेन्टिनाले पोर्टो रिको, जाम्बिया र मौरिटानियाजस्ता टोलीसँग मैत्रीपूर्ण खेल खेलेको थियो, जसले टोलीको वास्तविक क्षमता मापन गर्न वा शीर्ष स्तरका प्रतिद्वन्द्वीविरुद्धको प्रदर्शनबारे स्पष्ट संकेत दिन सक्दैन ।
प्रमुख खेलाडीहरूको फिटनेस चिन्ता
प्रतियोगिता सुरु हुन केही दिन मात्र बाँकी रहँदा अर्जेन्टिनाका केही प्रभावशाली खेलाडीहरूको शारीरिक अवस्था पनि चिन्ताको विषय बनेको छ ।
विश्वकप २०२२ जित्ने टोलीका महत्वपूर्ण सदस्यहरू एमिलियानो मार्टिनेज, क्रिस्टियन रोमेरो र लियान्द्रो पारेडेसले क्लब सिजनको अन्त्यतिर विभिन्न चोटका समस्या सामना गरेका थिए । साथै टोलीमा मुख्य खेलाडी तथा कप्तान लियोनल मेस्सीपनि सामान्य चोटबाट रिकभर भएको बताइएको छ ।
प्रतियोगितात्मक फुटबलमा खेलाडीहरूको उपलब्धता अत्यन्त महत्वपूर्ण हुने भएकाले अर्जेन्टिनाले आफ्ना खेलाडीहरूको कार्यभार र फिटनेस कसरी व्यवस्थापन गर्छ भन्ने कुरा उपाधि रक्षा अभियानमा निर्णायक बन्न सक्छ ।
मेसी, डे पाउल र एमएलएसको प्रभाव
अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी र मिडफिल्डर रोड्रिगो डे पाउलले क्लब स्तरमा खेलिरहेको फुटबलको गुणस्तरबारे पनि केही शंका व्यक्त गरिएको छ ।
दुवै खेलाडीले युरोपको उच्चस्तरीय फुटबल छाडेर अमेरिकन क्लब इन्टर मियामीबाट मेजर लिग सकर (एमएलएस) खेलिरहेका छन् । एमएलएसको स्तर र लोकप्रियता बढ्दै गए पनि युरोपका शीर्ष लिगहरूको तुलनामा यसको प्रतिस्पर्धात्मकता र खेलको तीव्रता अझै फरक मानिन्छ ।
ओप्टाको पावर वरीयतामा पनि यसको प्रभाव देखिन्छ । युरोपमा अन्तिम सिजन खेल्दा मेस्सीको टोली पेरिस सेन्ट-जर्मेन पाँचौं स्थानमा रहेको थियो भने जुन २०२६ सम्म इन्टर मियामी ८९औँ स्थानमा रहेको छ ।
यद्यपि मेसी व्यक्तिगत रूपमा अझै उच्च स्तरमै खेलिरहेका छन् । उनले यस सिजन एमएलएसका १४ खेलमा १२ गोल र ७ असिस्टसहित १९ गोलमा योगदान दिएका छन् । गत सिजन ३४ खेलमा उनले ३५ गोल र २३ असिस्टसहित ५८ गोलमा योगदान गरेका थिए । तर विश्वकपले उनको यो प्रभावशाली प्रदर्शन अन्तर्राष्ट्रिय स्तरका बलिया प्रतिद्वन्द्वीविरुद्ध कत्तिको प्रभावकारी हुन्छ भन्ने वास्तविक परीक्षण गर्नेछ ।
मेसीको कार्यभार व्यवस्थापन
ओप्टा भिजन तथ्याङ्कअनुसार, मेसीले २०२४ को कोपा अमेरिका दौरान प्रति ९० मिनेटमा औसत १३ पटक स्प्रिन्ट गरेका थिए ।
यो संख्या कतार विश्वकप २०२२ को भन्दा मात्र होइन, हालको मेजर लिग सकर (MLS) का औसत प्रदर्शनभन्दा पनि उल्लेखनीय रूपमा बढी हो । बढ्दो शारीरिक भारका कारण उनले फाइनल खेलमा चोटसमेत बोके र मैदान छोड्दा भावुक देखिएका थिए ।
सम्भावित उदाउँदा खेलाडीहरू
प्रशिक्षक स्कालोनीको अर्को ठूलो शक्ति भनेको युवा तथा उदाउँदा खेलाडीहरूमा विश्वास गर्नु हो ।
कतार विश्वकप २०२२ मा एनजो फर्नान्डेज र एलेक्सिस म्याक अलिस्टर जस्ता खेलाडीहरू अपेक्षाकृत कम अन्तर्राष्ट्रिय अनुभवका बाबजुद पनि अर्जेन्टिनाको सफलतामा निर्णायक बनेका थिए ।
२०२६ मा पनि केही खेलाडीहरूले यस्तै भूमिका निभाउन सक्ने सम्भावना छ ।
वालेन्टिन बार्कोले ब्राइटनमा कठिन समयपछि स्ट्रासबर्गमा आफ्नो उत्कृष्ट लय पुनः फेला पारेका छन् । उनले बहुपक्षीय क्षमता, आक्रमणमा योगदान र रक्षात्मक मजबुती प्रदान गर्न सक्छन् ।
जुलियानो सिमेओनेले अर्जेन्टिनाको प्रेसिङ र ट्रान्जिसन शैलीमा छिट्टै अनुकूल हुँदै अगाडि ऊर्जा र अनुशासन थपिरहेका छन् ।
जोस म्यानुएल लोपेजले फरवार्ड लाइनमा फरक प्रकारको शारीरिक उपस्थितिसहित पेनाल्टी-बक्समा खतरा सिर्जना गर्न सक्छन् ।
त्यस्तै निको पाज फिटनेस समस्याहरू पार गर्न सकेमा महत्वपूर्ण क्रिएटिभ विकल्प बन्न सक्छन् । उनको प्राविधिक क्षमता र घना डिफेन्स तोड्ने क्षमता टुर्नामेन्टको निर्णायक क्षणहरूमा अत्यन्त उपयोगी हुन सक्छ, जसलाई पाउलो डिबालाजस्ता प्रतिभाशाली खेलाडीहरूले पनि पूर्ण रूपमा स्थायी बनाउन सकेका थिएनन् ।
– दी एनालिस्टबाट साभार
