प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने एमालेको अडान

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीले सदनमा आएर माफी नमागेसम्म सदन चल्न नदिने बताएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमाले संसदीय दलको उपनेता पद्मा अर्यालले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती भएकाले रेकर्डबाट हटाउनुपर्ने बताइन्।

उनले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न अङ्ग भएकाले निःसर्त फिर्ता हुनुपर्ने बताइन् । अर्यालले एउटा राष्ट्रिय सङ्कल्पको प्रस्ताव पारित गरी प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर क्षमायाचनासहित त्यो रेकर्ड हटाउनुपर्ने बताइन् ।

उनले राष्ट्रियताको मामिलामा पक्ष–विपक्ष हुन नहने बताइन् । उनले भनिन्, ‘यो ३ करोड नेपाली जनताको विषय हो, हामी सबैको साझा विषय हो। त्यसैले यो सम्मानित सभाबाट भूल सुधार गरौँ, हामी सबै एकताबद्ध बनौँ, राष्ट्रियताको मामिलामा पक्ष–विपक्ष हामी नहोऔँ। हामी एकताबद्ध भएर भूल सुधार गर्दै हाम्रा तर्फबाट सभामुख महोदयले त्यसको नेतृत्व गर्नुस्, एउटा राष्ट्रिय सङ्कल्पको प्रस्ताव पारित गरौँ। यो संसद्मा उपस्थित गराएर क्षमायाचनासहित त्यो रेकर्ड हटाउने काम गरौँ।’

उनले प्रधानमन्त्रीले कूटनीतिक मर्यादा र पदीय लजिम्मेवारी उल्लंघन गर्दै अभिव्यक्ति दिएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *