इस्लामाबाद । पाकिस्तानका सुरक्षा बलहरूले पछिल्लो ७२ घण्टामा खैबर पख्तुनख्वा प्रान्तको उत्तर वजिरिस्तान जिल्लामा सञ्चालन गरिएको गुप्तचर–आधारित शृंखलाबद्ध कारबाहीमा २७ आतङ्ककारीलाई मारेको जनाएको छ ।
सेनाका अनुसार मिरान शाह क्षेत्रमा रहेका विभिन्न आतङ्ककारी आश्रयस्थलहरूमा सुरक्षा बलहरूले कारबाही गरेका थिए । त्यस क्रममा भएको भीषण गोली हानाहानमा २७ आतङ्ककारी मारिएका हुन् ।
मारिएका आतङ्ककारीबाट हतियार र गोलाबारुद बरामद गरिएको जनाइएको छ। ती समूहहरू उक्त क्षेत्रमा नागरिक लक्षित हत्या तथा विभिन्न आतङ्कवादी गतिविधिमा संलग्न रहेको बताइएको छ ।
सेनाले मिरान शाहमा स्थानीय प्रभावशाली व्यक्तित्व मलिक सैफुल्लाह दावरको हत्याको बदला लिइएको उल्लेख गर्दै उक्त आक्रमणमा संलग्न व्यक्तिहरूलाई कारबाहीमार्फत नियन्त्रणमा लिइएको जनाएको छ ।
क्षेत्रलाई पूर्ण रूपमा आतङ्कमुक्त बनाउन थप सफाइ अभियान जारी रहेको र यो कारबाही देशको जारी आतंकवाद विरोधी अभियानको हिस्सा भएको सेनाले जनाएको छ ।
