काठमाडौं । जुन ११ बाट अमेरिका, क्यानडा र मेक्सिकोमा २३ औँ संस्करणको फिफा विश्वकप शुरु हुँदैछ । विश्वकपको इतिहासमै पहिलोपटक तीन राष्ट्रले संयुक्त रुपमा विश्वकप आयोजना गर्दा ४८ टोलीले प्रतियोगितामा सहभागिता जनाउँदैछन् । यसपटकको विश्वकप तीन देशको १६ वटा सहरमा हुँदैछ ।
यसपटक एसियाबाट ९, अफ्रिकाबाट १०, उत्तर अमेरिका र दक्षिण अमेरिकाबाट समान ६/६, ओसियनबाट एक र युरोपबाट १६ गरि कुल ४८ टोलीले उपाधिको लागि दाबेदारी प्रस्तुत गर्नेछन् । यसपटक जोर्डन, उज्वेकिस्तान, कप भेर्डे र कुराकोले विश्वकपमा डेब्यु गर्दैछन् ।
विश्वकपमा सहभागिता जनाउने ४८ मध्ये २५ टोलीले सन् २०२२ को विश्वकप खेलेका थिए । कतार पहिलोपटक छनोटमार्फत विश्वकपमा छनोट भएको छ । यसअघि कतारले सन् २०२२ मा आयोजक राष्ट्रको रुपमा विश्वकपमा स्थान पाएको थियो । डीआर कोंगो र हाइटीले ५२ वर्षपछि विश्वकपमा पुनरागमन गरेका छन् भने इराकलेपनि सन् १९८६ पछि पहिलोपटक विश्वकप खेल्न लागेको हो ।
यस्तै अष्ट्रिया, नर्वे र स्कटल्याण्ड सन् १९९८ को विश्वकपपछि पुनरागमन गर्दा टर्की सन् २००२ को विश्वकपमा तेस्रो स्थान हात पारेपछि पहिलोपटक छनोट भएको छ । न्युजिल्याण्ड, पाराग्वे र दक्षिण अफ्रिका सन् २०१० को विश्वकपपछि पहिलोपटक विश्वकपमा छनोट भएका छन् । न्युजिल्याण्ड विश्वकपमा सहभागिता जनाउने टोली मध्ये फिफा वरीयतामा सबैभन्दा तल (८५ औँ स्थान) रहेको टोली हो ।
चारपटकको विश्वकप विजेता इटाली युरोपियन प्लेअफको फाइनलमा बोस्निया एण्ड हेर्जेगोभिनासँग पेनाल्टी सुटआउटमा पराजित भएपछि लगातार तेस्रोपटक विश्वकपमा छनोट हुन असफल भएको थियो । कोस्टारिका सन् २०१० पछि पहिलोपटक छनोट हुन नसक्दा सन् २०२२ को विश्वकप खेलेका क्यामेरुन, डेनमार्क, पोल्याण्ड, सर्बिया र वेल्स यसपटक छनोट हुन सकेनन् ।
