त्रुटी कि अपराध ?

काठमाडौँ । उपराष्ट्रपतिको कार्यालयका सचिव कृष्णहरि पुष्करले बिहीबार बिहान प्रधानमन्त्री बालेन साहलाई राजदूत नियुक्तिका लागि सिफारिस गरिदिन आग्रह गर्दै एसएमएस पठाएको भन्दै प्रहरीले केही घण्टा नियन्त्रणमा लिएर छाड्यो । पुष्कर आगामी असार २४ गते अनिवार्य अवकाश पाउँदैछन् । सरकारले राजदूतका लागि दरखास्त आह्वान गरेपछि उनले पनि राजदूत बन्ने इच्छा राखेका थिए । त्यसपछि उनले प्रधानमन्त्रीलाई यस्तो म्यासेज लेखे, ‘राजदूतको निम्ति भ्याकेन्सी खुलेको छ, मैले पनि आवेदन दिन लागेको, सहयोग पाउने अपेक्षा छ हजुर !’ यस्तो म्यासेज पठाएपछि प्रधानमन्त्री बालेन साहले पुष्करलाई पक्राउ गर्न निर्देशन दिए । पक्राउ परेर सात घण्टापछि पुष्करलाई प्रहरीले श्रमतीको जिम्मा लगायो । प्रधानमन्त्री र पुष्कर एउटै जिल्लाको र उनीहरुबीच लामो समयदेखि राम्रो र निकट सम्बन्ध रहेको बताइएको छ । त्यसै भएर पुष्करले प्रधानमन्त्रीलाई यस्तो म्यासेज लेखेका होलान् । तर पुष्करले अपेक्षा गरेको भन्दा उल्टो भयो । म्यासेज लेखेकै भरमा पुष्करलाई पक्राउ गरेको भन्दै अहिले यसको पक्ष र विपक्षमा बहस भइरहेको छ । पुष्करले पक्राउ पर्ने गरी कुनै अपराध नगरेको भन्दै पक्राउ गर्नु गलत भएको भन्दै एकाथरीले टिप्पणी गरिरहेका छन् भने अर्काथरीले पक्राउ गर्नु ठिक थियो भनेर । केहीले प्रश्न गरेका छन्, ‘उमेर छ काम गर्ने जोश जाँगर छ राजदूत भएर पनि काम गर्ने थप इच्छा छ सचिवको यति भनाईमा के अपराध थियो ?’

यो घटनापछि सरकारले पुष्करलाई उपराष्ट्रपतिको कार्यालयबाट सरुवा गरी जगेडामा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार पुस्करलाई उपराष्ट्रपति कार्यालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको हो । सचिव पुष्करको यो त्रुटी थियो कि अपराध ? एउटा बहसको विषय बनेको छ ।

गतसाता संसदमा प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको भूमि मिचेको बताए । सांसदहरुको प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्रीले भने, ‘म प्रधानमन्त्री भएपछि थाहा पाएको भारतले मात्र होइन नेपालले पनि भारतको जग्गा मिचेको रहेछ ।’ त्यस्तै प्रधानमन्त्रीले भारतसँगको सीमा विवाद समाधानका लागि इङ्ल्याण्डसँग पनि कुरा गर्ने बताए । तर भारतले दुई देशको सीमा विवादमा तेस्रो पक्षको संलग्नतालाई अस्वीकार गरेको छ । यो अभिव्यक्तिपछि प्रधानमन्त्री विवादमा तानिएका छन् । अहिलेसम्म भारतले नेपालले आफ्नो भूमि मिचेको नभनेकाले प्रधानमन्त्री साहले चाहिँ किन यस्तो भने त ? प्रधानमन्त्रीको यो अभिव्यक्ति त्रुटी थियो कि अपराध ?

प्रधानमन्त्रीको यो अभिव्यक्तिपछि विपक्षी दलहरुले एकस्वरमा प्रधानमन्त्रीले माफी नमागेसम्म सदन चल्न नदिने अडान लिएपछि सभामुखले एकसाताका लागि सदन बन्द गरेका छन् । अनि प्रधानमन्त्रीको अभिव्यक्तिको बचाउमा पूरै रास्वपा रफ्फू भर्न लागिपरेको छ । भारत भ्रमणबाट शुक्रबार फर्केका रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्तिबारे परराष्ट्र मन्त्रालयले दिएको प्रष्टीकरण नै आधिकारिक धारणा भएको बताए । रविले सीमाबारेको अभिव्यक्तिप्रति सोधिएको प्रश्नमा उनले परराष्ट्र मामिला पार्टीपिच्छेको नहुने भएकाले परराष्ट्र मन्त्रालयको धारणानै आधिकारिक हुने बताए । उनको भनाई थियो, “सरकारका प्रमुख प्रधानमन्त्री भएका हिसाबले आफूले बोलेको कुरा सरकारले त्यसको बारेमा के कसो हो भनेर परराष्ट्र मन्त्रालयले स्पष्टसँग विज्ञप्ति नै जानकारी गराइसकेको छ ।त्यो नै सरकारको आधिकारिक धारणा हो ।” परराष्ट्रले उक्त धारणा दिइसकेपछि त्यसबारे धेरै बोल्न नपर्ने उनले बताए ।

रविको भनाईपछि अर्को प्रश्न उब्जिएको छ । के मुलुकको कार्यकारी प्रमुखले बोलेको ठिक कि मन्त्रालयले ? अनि प्रधानमन्त्री माथि कि परराष्ट्र मन्त्रालय ? अब तपार्ईँहरु नै भन्नुस्, राजदूत हुन पाम भनेर प्रधानमन्त्रीलाई म्यासेज गर्ने पुष्करले त्रुटी गरेका हुन् कि अपराध ? अनि नेपालले भारतको भूमि मिचेको भनेर संसदको रोष्ट्रममा उभिएर अभिव्यक्ति दिने प्रधानमन्त्रीको नि ? त्यस्तै प्रधानमन्त्रीको भनाईमा रफ्फू लगाउने रविको भनाइ नि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *