ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

काठमाडौं । नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा पुगेको छ । आइतबार बिहान सम्पन्न खेलमा ओमानलाई ८ विकेटले हराउँदै नेपालले फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

जितको लागे ९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ९.२ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो । नेपाललाई जित दिलाउन लोकेश बम र रोहित पौडेलले तेस्रो विकेटको लागि ६८ रनको साझेदारी गरेका थिए । लोकेशले २६ बलमा ७ चौका र एक छक्काको मद्दतमा ४४ रन बनाउँदा रोहित पौडेलले २० बलमा २१ रन बनाए । यस्तै कुशल भुर्तेल २० र आसिफ शेख एक रन बनाउँदै पभिलियन फर्किएका थिए ।

ओमानको लागि समिर ओथम्यानले ४ ओभरमा ३६ रन दिएर दुई विकेट लिए ।

यसअघि सिंगापुरस्थित सिंगा ओभल मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङमा उत्रिएको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन जोडेको थियो । ओमानको लागि कप्तान सुफयान महमोद सर्वाधिक ३८ रन बनाए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै जुबैर अलीले २२ र अब्दुलजालिल खानले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि करण केसीले ४ ओभरमा २० रन दिएर तीन विकेट लिँदा सोमपाल कमी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । यस्तै शहाब अलाम, कुशल मल्ल र दीपेन्द्र सिंह एरीको नाममा एक/एक विकेट रह्यो ।

अब नेपालले फाइनलमा आज मलेसिया र हङकङ बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *