काठमाडौँ । नेकपा एमालेका नेता विष्णु रिजालले परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय विदेशमन्त्रीसँगको भेटमा ‘हामी पुराना बोझ बोक्दैनौँ’ भन्ने अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाएका छन् । शनिबार परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको थियो । भेटमा परराष्ट्रमन्त्री खनालले पुराना बोझ नबोक्ने बताएको खबर सार्वजनिक भएको थियो ।
यस्तो छ एमाले नेता रिजालको भनाई
हाम्रा परराष्ट्रन्त्रीले भारतीय विदेशमन्त्रीसँगको वार्तामा ’हामी पुराना बोझ बोक्दैनौँ’ (We carry no old baggage) भनेको कुरा सार्वजनिक भएको छ । भारतसँगको सम्बन्धकाबारेमा नेपालले केलाई ‘पुराना बोझ’ ठहर गरेको हो ? भारतसँग कैयौँ विषय छन्, जसलाई कूटनीतिक सम्वादका माध्यमबाट सुल्झाउनुपर्ने छ । कतै थाँती रहेका दुई पक्षीय विषयहरु अब उठाइँदैन भनेको त होइन ? त्यसैले यी विषयहरुका बारेमा ’पुराना बोझ नबोक्ने’ सरकारले स्पष्ट पार्नुपर्छः
१. कालपानी, लिपुलेक र लिम्पियाधुरासहितको नेपालको मिचिएको भूमिका बारेमा वार्ता गर्ने नेपालको प्रस्ताव ‘पुरानो बोझ’ हो ?
२. सन् १९५० को सन्धि पुनरावलोकन गर्ने नेपालको लामो समयदेखिको प्रस्ताव ‘पुरानो बोझ’ हो ?
३. दुबै देशले गठन गरेको इपीजीद्वारा तयार पारेर हालसम्म नबुझिएको सर्वसम्मत प्रतिवेदन ‘पुरानो बोझ’ हो ?
४. ३० बर्षअघि हस्ताक्षर भएर हालसम्म कार्यान्वयन सुरु नै नभएको महाकाली सन्धि कार्यान्वयनको नेपालको प्रस्ताव ‘पुरानो बोझ’ हो ?
कूटनीतिमा शब्दहरुको प्रयोग राज्यको निरन्तरतासँग सम्बन्धित हुन्छन् । आशा गरौँ, यस सम्बन्धमा आवश्यक बहस हुनेछ ।
