काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोट अन्तर्गत जारी पहिलो सेमिफाइनल खेलमा ओमानले नेपाललाई सामान्य विजयी लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरस्थित सिंगा ओभल मैदानमा भएको खेलमा ओमानले नेपाललाई जितको लागि ९५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको हो ।
टस जितेर पहिले ब्याटिङमा उत्रिएको ओमानले १९.४ ओभरमा अलआउट हुँदै ९४ रन जोडेको थियो । ओमानको लागि कप्तान सुफयान महमोद सर्वाधिक ३८ रन बनाए । उनले ४२ बलमा २ चौका र २ छक्का प्रहार गरे । यस्तै जुबैर अलीले २२ र अब्दुलजालिल खानले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि करण केसीले ४ ओभरमा २० रन दिएर तीन विकेट लिँदा सोमपाल कमी र सन्दीप लामिछानेले दुई/दुई विकेट लिए । यस्तै शहाब अलाम, कुशल मल्ल र दीपेन्द्र सिंह एरीको नाममा एक/एक विकेट रह्यो । अब नेपालले जवाफी ब्याटिंग गर्नेछ ।
