‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैनः सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीभित्र पदोन्नतिको अपेक्षा राख्ने वा योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर नहुने बताएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले पार्टी स्थापनाको चार वर्षमै यस्ता प्रवृत्ति देखिनु चिन्ताको विषय भएको बताएका हुन् । उनले भनेका छन्, ‘स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन । चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ ।’

उनले पुरानै सोच, शैली र प्रवृत्ति बोकेर नयाँ र परिष्कृत जनमैत्री शक्ति बन्न नसकिने बताए । उनले पार्टीको लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौँ। पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो । अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्नँ कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ।’

यस्तो छ रवि लामिछानेको अपील

प्रिय रास्वपा परिवारजन
नमस्कार, जय घण्टी।
रास्वपाको पहिलो महाधिवेशनको प्रक्रिया अन्तर्गत वडा र पालिका तहका अधिवेशनहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्। आज र भोलि अर्थात् (जेठ २३ र २४ गते) जिल्ला अधिवेशनहरू हुँदैछन्। अधिवेशन र महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया मात्र होइन, पार्टीको अनन्तकालीन जीवन, विधि–पद्धति, अभ्यास र स्वस्थ परम्परा निर्माण गर्ने ऐतिहासिक अवसर हो। यसले हाम्रो आगामी यात्रालाई स्पष्ट दिशानिर्देश गर्नेछ। पार्टीको सर्वोपरि हितका लागि हरेक तहमा सक्षम, इमानदार र जनमैत्री नेतृत्व आवश्यक छ। सम्बाद सहमति र आन्तरिक निर्वाचनजस्ता लोकतान्त्रिक विधिहरू अपनाएर नेतृत्व चयन गरिनु नै हाम्रो संस्कार हो। यही प्रक्रियाबाट पार्टी अझ बलियो र परिपक्व बन्दै जान्छ।

हामीले रास्वपालाई उन्नत लोकतान्त्रिक पार्टी बनाउने लक्ष्य लिएका छौं। त्यसका लागि विचार मात्र होइन, हाम्रो शैली, व्यवहार र राजनीतिक संस्कार पनि उन्नत हुनुपर्छ। पुरानै सोच, शैली र प्रवृत्ति बोकेर हामी नयाँ र परिस्कृत जनमैत्री शक्ति बन्न सक्दैनौं। स्थापनाकालमा सीमित दायरामा सहमतिका आधारमा बाँडिएका तदर्थ जिम्मेवारीलाई स्थायी मानक मानेर पदोन्नतिको अपेक्षा राख्ने वा ‘योगदान’को हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन। चार वर्षमै यस्तो प्रवृत्तिले जरा गाड्न खोज्नु चिन्ताको विषय हो, जसलाई हामीले समयमै सच्याउनुपर्छ।

पार्टी जिम्मेवारीमा रहेर भविष्यमा संसदीय अवसर प्राप्त गर्ने आशयले नेतृत्वका लागि मरिहत्ते गर्ने प्रवृत्ति पनि कहिलेकाहीँ देखिएको छ। यस्ता प्रवृत्तिलाई अधिवेशनकै लोकतान्त्रिक प्रक्रियाबाट न्यूनीकरण गर्नु आजको आवश्यकता हो। आज हामी जहाँ छौं, त्यो केवल केही व्यक्तिको योगदानले होइन, सबैभन्दा माथि मतदाताको विवेक, त्यसपछि पार्टीका सम्पूर्ण सदस्यहरूको समर्पणले सम्भव भएको हो। पुराना साथीहरूले बनाएको जगमा नयाँ पुस्ताको ऊर्जा र सक्रियताले हाम्रो यात्रालाई यहाँसम्म ल्याएको हो।

अब हाम्रो लक्ष्य केवल वैकल्पिक शक्ति बन्ने होइन, मुलुकको नेतृत्व गर्ने सक्षम राजनीतिक शक्ति बन्ने हो। त्यसका लागि पार्टीलाई अझ फराकिलो, समावेशी र सुदृढ बनाउनुपर्छ। तर, संगठन विस्तार हुँदा ‘म रहन्न कि’ भन्ने संकीर्ण चिन्तालाई त्याग्नुपर्छ। पार्टी ठूलो हुँदा हामी सबैको भूमिका अझ अर्थपूर्ण हुन्छ।

युगले दिएको अभिभारा पूरा गर्न, पछिल्लो जनमतलाई अझ विस्तार गर्न र राजनीतिलाई सुसंस्कृत, पारदर्शी तथा जनमैत्री बनाउन हामी सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्छ। अब ‘म’ बाट ‘हामी’मा रुपान्तरण हुने बेला आएको छ। रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशन प्रक्रिया सभ्य, भव्य, सुसंस्कृत र सन्देशमूलक बनोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
जय घण्टी।

Leave a Reply

Your email address will not be published. Required fields are marked *