काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शैक्षिक २०८३/०८४ का लागि कक्षा ११ र १२ कोटामा अध्ययन गर्न चाहने छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट मनोनयन सूची (म्याचिङ् लिष्ट) सार्वजनिक गरेको छ । यसअघि प्रकाशित अन्तिम योग्यता क्रम, विद्यार्थीले आवेदन दिँदा रोजेको विषय र शिक्षण संस्थाको प्राथमिकता क्रमका आधारमा साधारण एवम् आरक्षण र समूहगत रूपमा तोकिएको सिट संख्याका आधारमा जेठ २२ गतेको परीक्षा समितिको निर्णय अनुसार सूची प्रकाशन गरिएको हो ।
प्रकाशित सूची अनुसार शिक्षामा ६ जना, मानविकीमा १२ जना, कानुनमा ५० जना, व्यवस्थापनमा १ हजार ४०१ जना र विज्ञानमा २ हजार २६६ गरी ३ हजार ७३५ जनाको नाम सिफारिस भएको छ ।
यसमा ल्याण्डफिल साइट प्रभावित क्षेत्रबाट २८ जना, महानगरपालिकाभित्रका स्थायीबासीबाट ४९२ जना, सामुदायिक विद्यालयबाट एसईई उत्तीर्ण गर्नेबाट १ हजार ५४५ जना, संस्थागत विद्यालयबाट एसईई उत्तीर्ण गर्नेबाट ४८१ जना, अपाङ्गता भएका व्यक्ति तथा अभिभावकमा अपाङ्गता भएका परिवारबाट १३ जना, आदिबासी जनजातिबाट १७३ जना, खस आर्यबाट १९७ जना, छात्रा कोटाबाट ४४० जना, थारुबाट ३९ जना, दलितबाट ९६ जना, पिछडिएको क्षेत्रबाट ४६ जना, मधेशीबाट १४९ जना, मुस्लिमबाट २२ जना र सहिद, वेपत्ता पारिएकाका परिवार, जेन्जी आन्दोलन, द्वन्द्व पीडित परिवारबाट १४ जना विद्यार्थी शिफारिसमा परेका छन् ।
यस वर्षका लागि महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थाका लागि ४ हजार ८५७ कोटा निर्धारण गरिएको शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काले जानकारी दिए ।
यसमा विज्ञान विषयका लागि २ हजार ३७१ कोटा छन् । व्यवस्थापनमा १ हजार ५४९, शिक्षामा ७, मानविकीमा ४९ र कानुनमा ७५ कोटा निर्धारित छन् । यी विषयहरुमा १८ हजार ३५८ जना, २ हजार ३८२ जना, ११० जना, ४६३ जना, ६२१ जना विद्यार्थी भर्नालाई आधार मानेर कोटा निर्धारण गरिएको हो ।
