काठमाडौँको रात्रि यातायात कति प्रभावकारी ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँमा रात्रिकालीन यातायात सेवालाई विस्तार गर्न अन्तर नगर यातायात सञ्जाल विकास गरिने जानकारी दिएकी छन् । २०८३ वैशाख १ गतेदेखि काठमाडौँ महानगरपालिकाले साझा यातायातसँगको सहकार्यमा सञ्चालन गरेको रात्रिकालीन यातायातको प्रभाव र सेवा विस्तार अध्ययन तथा सिफारिस कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै उनले यस्तो बताएकी हुन् ।

काठमाडौँ महानगरपालिकाका ट्राफिक विज्ञ सल्लाहकार जगतमान श्रेष्ठको संयोजकत्वमा गठित समितिले यो अध्ययन गरेको हो । अध्ययन समितिमा महानगरपालिकाका वरिष्ठ लेखा अधिकृत विपुल तिवारी, सिभिल इञ्जिनियर आँचल आचार्य, साझा यातायातका सहायक प्रबन्धक इञ्जिनियर जनक रिसाल र यातायात व्यवस्थापन अधिकृत शंकर बस्याल सदस्य थिए ।

प्रतिवेदन बुझ्ने क्रममा परीक्षणकालीन सेवाको ३ महिना अवधिको समीक्षा गरिएको थियो । यस अवधिमा ६६ हजार ९५२ जना यात्रीले सेवा लिएका छन् । एउटा बसले दैनिक औसत १४२ जना यात्री बोक्ने गरेको र यसबाट दैनिक ३ हजार १३४ रुपियाँ आम्दानी हुने गरेको देखिएको छ । एउटा बसको दैनिक सञ्चालन लागत ४ हजार ८१४ रुपियाँ रहेको छ । यसरी हेर्दा दैनिक प्रतिबस १ हजार ६९० रुपियाँ (करिब ३५ प्रतिशत) घाटा भइरहेको प्रतिवेदनले औँल्याएको छ ।

अध्ययनले रातको ८ बजेदेखि ९ बजेसम्मको समयमा सबैभन्दा बढी (४१.५६ प्रतिशत) यात्रीको चाप रहने गरेको देखाएको छ । यसमा कार्यालयबाट ढिलो फर्कने कर्मचारी, श्रमिक र दैनिक ज्यालादारी गर्ने मजदुरहरूको संख्या धेरै छ ।

रुटअनुसारको चाप हेर्दा, थानकोट एयरपोर्ट रुटमा ५१.५५ प्रतिशत र बुढानीलकण्ठ लगनखेल रुटमा ४८.४५ प्रतिशत यात्रुको भार देखिन्छ । यसरी यात्रा गर्ने यात्रीमध्ये ४७ प्रतिशत यात्रीले छोटो दुरी अर्थात् ५ किलोमिटरभित्रको दुरीमा यात्रा गरेका थिए । ३२ प्रतिशत यात्री मध्यम दुरीका र २१ प्रतिशत यात्री लामो दुरीका थिए । छोटो दुरीका भाडा २० रुपियाँ, मध्यम दुरीको भाडा २५ रुपियाँ र लामो दुरीको भाडा ३० रुपियाँ हो ।

अहिले ७ वटा बसबाट नागढुङ्गा एयरपोर्ट र लगनखेल बुढानीलकण्ठ रुटमा सेवा प्रदान गरिएको छ । यसलाई बढाएर २८ पुर्याउन समितिले सिफारिस गरेको छ । प्रस्तावित नयाँ रुटहरूमा गोदावरी–बुढानीलकण्ठ, चक्रपथ (रिङरोड)मा दोहोरो सेवा, जगाती–ठमेल र कीर्तिपुर–नेपाल बायु सेवासम्म रहेका छन् । यी रुटहरूले उपत्यकाका प्रमुख अस्पताल, व्यावसायिक केन्द्र र नाकाहरूलाई जोड्नेछन ।

वित्तीय दिगोपनाका लागि प्रिमियम भाडा र लागत साझेदारी

रात्रिकालीन सेवालाई आर्थिक रूपमा दिगो बनाउन कार्यदलले तीनवटा मुख्य विधि प्रस्ताव गरेको छ । रात्रिकालीन समयमा कर्मचारीको अतिरिक्त भत्ता र प्राविधिक खर्च बढी हुने भएकाले हालको भाडामा १२ रुपैयाँ थप गरी ‘रात्रिकालीन प्रिमियम रेट’ कायम गर्न सकिने समितिले दिएको सुझावको पहिलो विकल्प हो ।

सेवामा हुने कुल घाटाको ५० प्रतिशत रकम ८ वटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम नगरपालिकाको आकार, जनघनत्व र सञ्चालन दूरीका आधारमा बाँडफाँड गर्ने (भाइबीलिटी ग्याप फण्डिङ) मोडल दोस्रो प्रस्ताव हो ।

यात्रीहरुमा वास्तविक अवस्थिति र समयतालिका हेर्न सकिने प्रविधि लगायत यात्रीहरुमा विश्वाश र भरोसा बढाउने कार्यक्रम गरेर लागत जुटाउने समितिले दिएको तेस्रो विकल्प हो ।

प्रतिवेदनले रात्रिकालीन सेवामा महिला, ज्येष्ठ नागरिक र पर्यटकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राख्नु पर्ने भनेको छ । यसका लागि बसभित्र सीसीटीभी क्यामरा, जीपीएस ट्रयाकिङ र ‘डेडिकेटेड’ बस स्टपहरूको व्यवस्था गर्न सुझाइएको छ ।

काठमाडौँ, ललितपुर, बुढानीलकण्ठ, चन्द्रागिरि, सूर्यविनायक, मध्यपुर थिमि, गोदावरी र कीर्तिपुर नगरपालिकाको सक्रिय सहभागितामा यो सेवा विस्तार गरिएमा उपत्यकाको रात्रिकालीन अर्थतन्त्र चलायमान हुने र निजी सवारीमाथिको निर्भरता घट्ने प्रतिवेदनले औँल्याएको छ । संघीय राजधानीको सार्वजनिक यातायातलाई व्यवस्थित गर्न ‘शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण’ मार्फत यसको नियमन र सुशासन कायम हुन सक्ने प्रतिवेदनमा उल्लेख छ ।

सुरुवाती तीन महिना (वैशाख–असार) मा ७ वटा विद्युतीय बसमार्फत २ वटा रुटमा सेवा सञ्चालन गरिएको थियो ।
यो सेवालाई थप प्रभावकारी बनाउन उपत्यकाका ८ वटा नगरपालिकाहरूलाई समेट्ने गरी सेवा विस्तार गर्न सिफारिस गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *