इरानी मुलका अमेरिकी पत्रकारसहित चार जनाद्वारा सहायताका लागि याचना

वासिङ्टन । तेहरानको कुख्यात कारागारमा १० वर्षको जेल सजाय सुनाइएका एक इरानी–अमेरिकी पत्रकारले आफू र अन्य अमेरिकी बन्दीका लागि स्वास्थ्य सहायता उपलब्ध गराउन वासिङ्टनसँग आग्रह गरेको छ ।

इरानी मुलका अमेरिकी नागरिकताधारी पत्रकार रेजा वालिजादेहलाई अमेरिकी लगानीमा सञ्चालित फारसी भाषाको रेडियो फार्दाका लागि दुश्मनसँग सहकार्य गरेको आरोपमा जेल सजाय सुनाइएको हो ।

गत फेब्रुअरीमा राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरु गरेको युद्धको समाधानका लागि तेहरान र वासिङ्टनबीच वार्ता जारी भइरहेका बेला सीबीएस न्यूजले प्राप्त गरेको उहाँकै आवाजमा रेकर्ड गरिएको सन्देश सार्वजनिक भएको हो ।

दुई मिनेटको रेकर्डिङमा वालिजादेहले आफू र तेहरानको एभिन जेलमा रहेका अन्य तीन जना अमेरिकी बिरामी भएको र उपचारबाट वञ्चित भएको बताएका छन् ।

सन्देशमा भनिएको छ, ‘हामी चारै जना विभिन्न रोगबाट पीडित छौँ र वास्तविक चिकित्सा सेवाबाट वञ्चित छौँ, अमेरिकी सरकारले इरानी नाविकहरूको रिहाइको बदलामा कम्तिमा हाम्रा लागि वास्तविक चिकित्सा सेवाहरूको माग गर्न सक्थ्यो ।’

रेकर्डमा भनिएको छ, ‘यदि हाम्रो रोगको उपचार एक ठूलो माग हो भने पनि सरकारले कम्तिमा इरानी अधिकारीहरूलाई कैदमा हामीविरुद्ध सबै शारीरिक दबाब र मानसिक यातना कम गर्न आग्रह गरोस्।’

एएफपीले रेकर्डिङको आधिकारिकता पुष्टि गर्न सकेको छैन तर सीबीएस न्यूजले रेकर्डिङ भर्खरको हो र गत हप्ता इरानी अधिकारीहरूले युद्धकालीन सञ्चार प्रतिबन्धहरू खुकुलो पारेपछि बनाइएको बताएको छ ।

वालिजादेहका वकिल रायन फाहीले सीबीएस न्यूजसँग भने, ‘वालिजादेह लगातार खोकी, ढाड दुख्ने र दाँतको समस्याबाट पीडित हुनुहुन्छ ।’ इजरायली आक्रमणले जेलको केही भागमा क्षति पुर्याएको उल्लेख गर्दै फहीले भने, ‘उनी जेलमा भएको हवाई आक्रमणबाट बाँच्नुभएको थियो ।’

संयुक्त राज्य अमेरिकाले सन् २०२४ मा भनेको थियो, ‘अमेरिका वालिजादेहको हिरासतको बारेमा जानकार छ र इरानलाई उहाँलाई रिहा गर्न आह्वान गरेको पनि थियो ।’

अधिकारवादी समूहहरूले इरानको जेलको अवस्थाबारे चासो व्यक्त गर्दै भनेका छन्, ’इरानी जेलमा प्रायः कैदीहरू भीडभाड र खाना, पानी, स्वच्छता आपूर्ति, औषधि र स्वास्थ्य सेवाको अभावबाट पीडित छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *