काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टी अब देश रूपान्तरणको अभियानमा सक्रिय रूपमा अघि बढेको बताएका छन् । शुक्रबार पार्टीको प्रथम युवा भेला तथा पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले पार्टीले हरेक क्षेत्रका नागरिकसँग जोडिएर देशमा परिवर्तन ल्याउने लक्ष्यसहित अगाडि बढिरहेको बताएका हुन् ।
उज्यालो नेपाल पार्टी अब जुरुक्क उठेको भन्दै उनले पार्टीले अब यो देशमा परिवर्तनको लागि काम गर्ने बताए । उनले निर्वाचनमा छोटो तयारी र विभिन्न परिस्थितिका कारण अपेक्षित सफलता हासिल गर्न नसके पनि पार्टीप्रति जनताको विश्वास कायमै रहेको दाबी गरे । उनले निर्वाचनमा पराजित भए पनि उज्यालो नेपाल पार्टी जनताको मनमा विश्वासको पात्रका रूपमा स्थापित भएको बताए ।
उनले भने, ‘विभिन्न कारणले हामीले उज्यालो नेपाल पार्टीलाई जिताउन सकेनौं । हाम्रा साथीहरुले जित्न सकेनन् । तर उज्यालो नेपाल पार्टी हारेर पनि जितेको पार्टी हो । हरेक नेपालीको मनमस्तिष्कमा अहिले उज्यालो नेपाल पार्टी विश्वासको पात्र बनेको छ । अहिले हरेक ठाउँमा विभिन्न जिल्लामा,विभिन्न पालिकामा, उज्यालो नेपाल पार्टीमा प्रवेश गर्ने साथिहरुको लर्को लागेको छ ।’
अध्यक्ष घिसिङले उज्यालो नेपाल पार्टीले पराजयलाई अन्तिम नठानी आगामी दिनमा सफलता सुनिश्चित गर्ने तयारी गरिरहेको बताए ।
