काठमाडौं । एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ । बिहीबार दिउँसो भएको खेलमा मलेसियालाई १ सय ६७ रनले पराजित गर्दै नेपाल समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको हो ।
जितको लागि २ सय ७६ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८ रनमात्र बनाउन सक्यो । मलेसियाको लागे कप्तान सेद अजिजले अर्ध सतक बनाए । उनले ४५ बलमा ६ चौका र २ चौकाको मद्दतमा ५४ रन बनाउँदा शर्विन मुनाइडेले १८ र मुहम्मद हजीकले १३ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको शेर मल्लले ४ ओभरमा १४ रन दिएर तीन विकेट लिँदा करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्र सिंह एरी र कुशल मल्लले एक/एक विकेट लिए ।
यसअघि सिंगापुर राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिंगमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा २ सय ७५ रन बनाएको थियो । नेपाललाई विशाल योगफलमा पुर्याउन कुशल भुर्तेलले लगातार दोस्रो सतक बनाए । उनले ५४ बलमा १४ चौका र ८ छक्काको मद्दतमा १ सय २६ रन बनाए । यस्तै अर्का ओपनर आसिफ शेखले २४ बलमा ७ छक्का र ५ चौकाको मद्दतमा ६८ रन बनाउँदा कप्तान दीपेन्द्र सिंह एरीले ३१ र लोकेश बमले १० रनको योगदान गरे ।
मलेसियाको लागि विरन्दिप सिंहले तीन तथा सेद अजिज र विजय उन्नीले समान दुई/दुई विकेट लिए ।
जितसँगै नेपाल २ खेलबाट ४ अंक जोड्दै समूह ‘ए’को शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २ अंक जोडेको मलेसिया दोस्रो स्थानमा रहेको छ ।
अब नेपालले सेमिफाइनलमा समूह ‘बी’को उपविजेतासँग खेल्नेछ ।
