नयाँ दिल्ली। भारतको औपचारिक भ्रमणमा रहेको सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डलले आज भारतीय गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेको छ।
नयाँ दिल्लीस्थित गृहमन्त्रालयमा भएको भेटघाटमा दुई देशबीचको आपसी हित, सीमा सुरक्षा, तथा कूटनीतिक सम्बन्धका विविध आयामबारे महत्त्वपूर्ण छलफल भएको जनाइएको छ।
भारतीय विदेशमन्त्री एस. जयशंकर र विदेशसचिव विक्रम मिस्रीसँगको उच्चस्तरीय संवादलगत्तै सभापति लामिछानेले भारतीय राजनीतिको शक्तिशाली मानिने गृहमन्त्री शाहसँग भेट गरेका हुन्।
भेटवार्ताका क्रममा नेपाल र भारतबीचको खुला सीमानाका कारण सिर्जना हुनसक्ने सुरक्षा चुनौती, अन्तर्देशीय अपराध नियन्त्रण र द्विपक्षीय सुरक्षा संयन्त्रलाई थप सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएकाे छ।
रास्वपा प्रतिनिधिमण्डलसँगको कुराकानीमा भारतीय गृहमन्त्री शाहले नेपालको स्थायित्व र विकासमा भारत सधैं सकारात्मक रहेको उल्लेख गर्दै सीमा सुरक्षा र सुरक्षा चासोका मामिलामा दुवै देशले मिलेर काम गर्नुपर्नेमा जोड दिएका थिए।
सभापति लामिछानेले नेपाल र भारतबीचको परम्परागत तथा जनस्तरको सम्बन्धलाई आधुनिक आवश्यकता अनुसार अझ प्रगाढ बनाउनुपर्ने धारणा राखेका थिए। नयाँ राजनीतिक दलको रूपमा रास्वपाले नेपालको समृद्धिका लागि छिमेकी मुलुकहरूसँग सन्तुलित र रचनात्मक सम्बन्ध राख्न चाहेको सन्देश उहाँले भारतीय पक्षलाई दिएका छन्।
प्रतिनिधिमण्डलमा सहभागी रास्वपाका अन्य नेताहरूले पनि दुई देशबीचका थाती रहेका कूटनीतिक विषयहरूलाई संवादकै माध्यमबाट टुङ्गो लगाउन उपयुक्त हुने धारणा राखेका थिए।
रास्वपा सभापति लामिछानेको यो भारत भ्रमण र नयाँ दिल्लीमा भइरहेका लगातारका उच्चस्तरीय भेटघाटहरूलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा निकै महत्त्वका साथ हेरिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका प्रमुख सारथिका रूपमा चिनिने गृहमन्त्री अमित शाहसँगको यो भेटले रास्वपाको कूटनीतिक सम्बन्ध विस्तार र पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा थप बलियो बनाएको विश्लेषण गर्न थालिएको छ।
