बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत ६ चिनियाँ फिल्मको काठमाडौँमा प्रदर्शन सुरु

काठमाडौं । बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पुरस्कृत ६ चिनियाँ फिल्मको प्रदर्शन काठमाडौंमा मंगलबारदेखि सुरु भएको छ ।

‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत आयोजित कार्यक्रम सागर झान निर्देशित फिल्म ‘ट्रयाप्ड’ प्रदर्शनसँगै सुरु भएको हो । कार्यक्रम चीन चलचित्र प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा आयोजना गरिएको हो ।

ठमेलस्थित छाया सेन्टरमा आयोजित उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान, नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल चलचित्र संघका अध्यक्ष नरेन्द्र महर्जन तथा अभिनेता प्रमोद अग्रहरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पाठकले यस्ता गतिविधिले नेपाल–चीन सांस्कृतिक सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । उनले चीनमा नेपाली फिल्म प्रदर्शन र वितरणका लागि समेत सहकार्य बढ्ने अपेक्षा व्यक्त गरे ।

मिनिस्टर काउन्सिलर पानले चलचित्र मनोरञ्जन मात्र नभई सामाजिक र सांस्कृतिक परिवेश बुझ्ने माध्यम भएको बताए । उनले यस्ता कार्यक्रमले दुई देशबीचको सम्बन्धलाई अझ निकट बनाउने धारणा राखे ।

निर्देशक तुलसी घिमिरेले चिनियाँ बजारमा नेपाली फिल्म प्रदर्शन र वितरणका लागि सहजीकरण आवश्यक रहेको बताए ।
‘ट्रयाप्ड’ प्रदर्शनपछि निर्देशक सागर झानसँग दर्शक तथा पत्रकारले अन्तरक्रिया गरेका थिए । उनले किशोरावस्थामा देखेका र अनुभव गरेका परिवेशलाई फिल्ममा उतारेको बताए ।

कार्यक्रम बिहीबारसम्म सञ्चालन हुनेछ । पहिलो दिन ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ फिल्मसमेत प्रदर्शन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *