भारतलाई रिझाउन प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको होः हर्क साम्पाङ

काठमाडौँ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन साहले सदनमा दिएको अभिव्यक्ति ‘राष्ट्रघाती’ भएको बताएको छ । पार्टी अध्यक्ष हर्क साम्पाङले विज्ञप्ति जारी गरी पूर्व तालिकाबिना बोलाइएको सदनको बैठकमा प्रधानमन्त्रीले ‘नेपालले भारतको भूमि धेरै ठाउँमा मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा उनले रास्वपा सभापति रवि लामिछाने भारत जानुअघि भारतलाई रिझाउन प्रधानमन्त्रीले यस्तो अभिव्यक्ति दिएको हुनसक्ने आशंका व्यक्त गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्रीको भनाइले नेपालको सीमा मिचिएको कुरालाई रफादफा गर्ने, लिपुलेक र लिम्पियाधुरा फिर्ता गर्नुपर्छ भन्ने नेपाली जनताको मागलाई सामसुम पार्ने तथा नेपालले धेरै ठाउँका भूमि भारतलाई छोडिदिनुपर्ने राष्ट्रघाती बदनियत प्रष्ट पारेको छ । प्रधानमन्त्रीले बोलेको यो कुराले अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि र स्थिति के हो भन्नेबारे गम्भीर अस्पष्टता व्यक्त गरेको छ ।’

उनले नेपाली सेनालाई मन्त्रीको गाडीको ढोका खोल्न र आफ्नै गरीब जनताका बस्ती (सुकुमबासी बस्ती)मा हमला गर्नमै सीमित राख्दै आएको सरकारले सिमानामा सेनालाई चियाउन समेत नपठाउनु तर उल्टै नेपालले भारतको सीमा धेरै ठाउँहरुमा मिचेको भन्नुले सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रधानमन्त्री र सरकार प्रतिबद्ध नरहेको आरोप लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *