बजेट गैरजिम्मेवार र हावादारीः एमाले

काठमाडौँ । नेकपा एमालेले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट गैरजिम्मेवार र हावादारी रहेको निष्कर्ष निकालेको छ । शनिबार बसेको एमाले संसदीय दलको बैठकले बजेट हावादारी भएको निष्कर्ष निकालेको प्रमुख सचेतक ऐन महरले जानकारी दिए । महरले सरकारको बजेटले जनताको अपेक्षा सम्बोधन गर्न नसकेको बताए ।

उनले भने, ‘यो बजेट समग्रतामा गैरजिम्मेवार र हावादारी छ। दुई तिहाइ प्राप्त गरेको सरकारको जुन ट्रान्सफर्मेसन, प्याराडाइम सिफ्टको बजेट हुनुपथ्र्यो, त्यो आउन सकेको छैन। यसले एउटा गरिब, तल्लो तहका जनता, सर्वहारा वर्ग, मजदुर, किसानलाई ध्यान दिन सकेको छैन। ’

महरले बजेटको स्रोत सुनिश्चितता पनि कमजोर रहेको टिप्पणी गरे। अर्थमन्त्रीले ऋणमा निर्भर नहुने प्रतिबद्धता जनाए पनि बजेट कार्यान्वयनका लागि ऋणमै भर परेको देखिएको र त्यसको स्रोतसमेत स्पष्ट नभएको उनको भनाइ थियो।

उनले बैठकमा बजेटमाथि पार्टीभित्र विस्तृत छलफल भएको र विभिन्न क्षेत्रका विज्ञ तथा पूर्व अर्थमन्त्रीहरूले आफ्ना धारणा राखेको जानकारी दिए।

उनले आगामी जेठ १८ गतेदेखि संसद्मा सुरु हुने बजेटमाथिको छलफललाई केन्द्रित गर्दै पार्टीको साझा धारणा निर्माणका लागि बैठकमा बजेटका विभिन्न आयामबारे समीक्षा गरिएको बताए।

यस्तै, राष्ट्रिय मानव अधिकार आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनबारे पनि बैठकमा प्रारम्भिक छलफल भएको महरले जानकारी दिए। प्रतिवेदनका केही पक्ष सकारात्मक भए पनि पार्टीले समग्र विषयमा आफ्नो आधिकारिक धारणा बनाएपछि संसदीय दलले त्यसलाई अघि बढाउने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *