गणतन्त्र दिवसमा राजा, प्रचण्ड र प्रश्नको सम्झना !

नारायण पौडेल ।

डेढ दशक पहिले । हिमानी ट्रष्टको शुभारम्भ कार्यक्रम । होटल सोल्टीमा । सायद मेरो आफ्नै जन्मदिन थियो सो दिन । रिपोर्टिङप्रति भोक यति थियो कि जन्मदिनको बाल मतलव । जसै कार्यक्रम शुरुवात भयो, आयोजकले श्री ५ महाराजधिराज सरकारकी जय भन्दै स्तुति गरे । गणतन्त्र घोषणा भएको केही समयमात्र भएको थियो । गणतन्त्रका पक्षमा पैरवी गरेको र पाखुरा सिउरिएको मेरा लागि सो दृश्य नमिठो थियो । कार्यक्रम सकिएपछि चियापानमा जाँदै गरेका ज्ञानेन्द्र शाहलाई मैले हुर्रिदै गएर सोधें–‘गणतन्त्र घोषणा भैसक्यो, तपाईं पूर्वराजा भैसक्नुभयो, तर श्री ५ को स्तुति गान सुन्दा तपाईं प्रफुल्ल देखिनुभयो । तपाईंलाई अफ्ठ्यारो लागेन, तपाईंले संविधान मान्नु पर्दैन ?’

हिमानी ट्रष्टमा गएका राजालाई सायद सो प्रश्न अपेक्षित थिएन । उनले खित्का छाडेर हाँसेजस्तो गरे । त्यसपछि आँखा तर्दै जवाफ फर्काए– ‘मैले कसैलाई श्री ५ भन्न भनेको छ ? तपाईं मलाई जे मन लाग्छ भन्नोस्, ज्ञाने भनेनि भन्नोस् ।’ राजा रिसाएको देखेर सुरक्षाकर्मीले मलाई धकेल्दै कुना पट्टी लगे । भीड राजातिरै थियो, म चाहिँ कुनापट्टी बसेर राजालाई एक तमासले हेरिरहें । एक्लै बस्न परेपनि मलाई ग्लानी थिएन, किनकी मैले ‘गणतन्त्र’का लागि ‘धर्म’ निभ्याएको थिएँ ।

सायद पूर्वराजाले मलाई ख्याल गरिरहेका थिए । उनले हातको ईशाराले बोलाए । म जोशिदै उनी भएतिर गएँ । उनले नरम भावमा भने–‘ल भन्नु के हो तपाईंको कुरा ? ल सोध्नु, के छ सोध्नु ।’ राजाको त्यो अपनत्व र सरलपनले मेरा प्रश्न विलुप भए । मैले नरम स्वरमा भनें– हजुरले पनि संविधान मान्नुपर्ने होला । उनले भने– मानेकै छ ।

त्यसपछि पूर्वराजा हेर्ने बिट मेरोजस्तै भयो । म उनलाई सर भनि बोलाउँथेँ । जस्तै भीडमा भएपनि उनले रेस्पोन्स गर्थे । भ्याएसम्म बोल्थे । एकपटक अन्तरवार्ताका लागि भनेर चितवन पनि पुगेको थिएँ । अन्तिममा दिन शुभ नरहेको भन्दै अर्को पटकलाई सरेको अन्तरवार्ता टरेको टर्यै भयो । राजाको रिपोर्टिङ सँगै व्यक्तिगतरुपमा राजाप्रतिको सम्मान बढ्यो पनि ।

राजा प्रश्नबाट भागेनन् । अपमान र अपजसको भारी बोकेरै भएपनि आजपर्यन्त मैदान छाडेनन् । भदौरे भेलमा गद्दीनसिन हुनलाई छिर्के दाउ लगाएनन् । एउटा सुन्दर फूलका रुपमा राजा ज्ञानेन्द्रले गणतन्त्ररुपी बगैंचाको सौन्दर्य बढाएका छन् । गणतन्त्रका माली प्रचण्डले विद्या भण्डारी राष्ट्रपति हुँदा राष्ट्रपतिको फितलोपनबारे व्यङ्ग्य गर्दै त्यसै भनेका होइनन् – कम्तिमा राजाको एउटा ओझ थियो ।

राजा, माओवादी, संसद र सरकारसँग सम्बन्धि ‘विशेष रिपोर्टिङ’ मेरो कार्यक्षेत्र थियो । राजाभन्दा प्रचण्डको शान र सौकत बढी जस्तो देखिने बेला थियो त्यो । यस्तो लाग्थ्यो– एउटा राजा फालेर अर्को राजा ल्याइयो । भाष्य यस्तो थियो– पारसको ठाउँमा प्रकाशको उदय भयो । यसै मेसोमा मैले प्रचण्डसँग टीकापुरमा अन्तरवार्ता गरें । सोधें– दुनियाका छोराछोरी तपाईंका लागि सहिद भए, तपाईं आफ्ना सन्तानका लागि राजनीतिकरुपमा सहिद हुनुभयो भन्छन्–तपाईंलाई के लाग्छ ? यो प्रश्नले प्रचण्डलाई कति घोच्यो थाहा भएन, तर उनको परिवार र सचिवालय मसककग क्रुद्ध बन्यो । त्यसपछि प्रचण्डसँग संवाद गर्नै मुश्किल भयो ।
एक दिन पत्रकार निरजराज जोशीलाई लिएर म प्रचण्ड निवास पुगें । प्रचण्डको सचिवालयले आनाकानी गर्दागर्दै मैले प्रचण्डसँग भेटें । वैद्य माओवादी तिर लागेका रामदीप आचार्यपनि त्यहीं रहेछन् । प्रचण्डले के छ खबर भनेर सोधे । मैले बेहाल छ भनें ।

उनले किन हो भनेर सोधे । मैले हाम्रो पुस्ता तपाईंको कारणले सधैं तरंगित रह्यो । यत्रो युद्ध गरेर आएको तपाईं ज्ञानेन्द्रभन्दा सामन्तजस्तो देखिन थाल्नुभयो भनेर कुरा राखें । आफ्नो बारेमा इतिहासले समीक्षा गर्ने भन्दै उनले सुनिरहे । मैले प्रचण्डमा देखिएको भनिएको नातावाद कृपावादबारे झर्रो शैलीमा कुरा राखें । बाहिर निस्केपछि निरजले भन्यो– तिमलाई मार्छन् बे ।
त्यतिविधि आलोचना गरेर निस्केपछि प्रचण्ड रिसाए होलान्, अन्तरवार्ताको सम्भावना टर्यो भन्ठानें । दिउँसो सचिवालयबाट फोन आयो–सिएमले तपाईंसँग कुरा गर्ने भन्नुभएको छ । म क्यामरा लिएर गएँ । सचिवालयका मित्रले कानमा भने– छोराछोरीको कुरा नगर्दिनु है, बुढाले त केही भन्दैनन्, आमा (सीता)ले हामलाई मार्छिन् !

प्रचण्डको राजनीतिक यात्रा र उपलब्धीबारे सहमत असमत हुन सकिन्छ । तर, यिनी प्रश्नबाट भागेनन् । आफ्नै छापामार जत्था रहेका यिनलाई शान्ति प्रक्रियाकै दौरान पत्रकारले सोधे– तपाईंको हात रगतले मुझिएको छ, के भन्नुहुन्छ ? यिनले यस्तो सोध्ने, तलाईं देखाइदिन्छु भन्ने पारा देखाएनन् ।

गणतान्त्रिक कालमा ज्ञानेन्द्र र प्रचण्डको मात्र कुरा होइन, केपी ओलीदेखि देउवासम्मले प्रश्नलाई प्रहार गरेनन्, प्रश्नप्रति प्रतिशोध राखेनन् । देउवालाई प्रश्न सोधेकै कारण सागर ढकालको राजनीतिक द्वार खुल्यो । विशेषतः ओलीलाई प्रश्न गरेकै कारण बालेनलाई जनबल मिल्यो । प्रधानमन्त्रीसँग सिधा कुरा गरेकै कारण रविको सिंहदरवार यात्राको आधार बन्यो । देउवा, ओली, प्रचण्डले विधि स्थापित गर्न सकेनन् होला तर सुदूरपश्चिमको डाँडामा पीच बाटो बनाइदिएर सुदूर अब दूर नही भन्न सक्ने वातावरण त बनाइदिएकै हुन् । हैन र ? शक्ति राष्ट्रहरुको सिधा दबाबलाई ईन्कार गर्दै संविधान बनाएकै हुन् नि, हैन र ? एकढिक्का भएर चुच्चे नक्शा पास गरेका हुन् नि , हैन र ?

हामीलाई देउवा, ओली, प्रचण्डको आलो पालो असहैय लागेको थियो । विधि मिचिएकोमा वितृणा जागेको थियो । नातावादको नाङ्गो नाँचले वाक्कदिक्क बनाएको थियो । यिनीहरुको विकल्प अपरिहार्य भएको थियो । तर, विकल्पमा प्रश्न बर्जित सिंहदरवारको कल्पना गरिएको थिएन । ताई न तुईको हस्याङफस्याङ वेफुर्सदीको लक्षण होइन, अपरिपक्वताको छनकमात्र हो । प्रश्नलाई निषेध गर्दैमा उत्तरको भोक हराउँदैन । राजा ज्ञानेन्द्रदेखि प्रचण्डसम्म, देउवादेखि ओलीसम्म विभिन्न औतारका शासक सामू जिउँदो जाग्दो रहेको प्रश्न अर्को औतारी आउँदैमा लत्रिदैन । प्रश्नमाथिको प्रहारले शासकलाई बलियो बनाउदैन । गणतन्त्रको शुभकामना !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *