काठमाडौं । नेपाल घरेलु कोर्टमा जारी काभा महिला भलिबल च्याम्पियनसिपबाट बाहिरिएको छ । बिहीबार बेलुकी सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इरानसँग ३-० को सोझो सेटमा पराजित हुँदै नेपाल स्तब्ध बनेको हो ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा भएको एकपक्षीय खेलमा इरान शुरुवात देखिनै हाबी बनेको थियो । पहिलो सेट २५-२० ले गुमाएको नेपाल त्यसपछिको दुई सेटमा अझ कमजोर सावित बन्यो । दोस्रो सेट २५-१५ र तेस्रो सेट २५-११ ले जित्दै इरानले फाइनलमा काजाख्तानसँग भेट पक्का गरेको हो ।
काजाख्तानले आजै भएको पहिलो सेमिफाइनल खेलमा भारतलाई ३-० को सोझो सेटमा हराएको थियो ।
अब भोली फाइनल र तेस्रो स्थानको लागि खेल हुनेछ । उपाधिको लागि काजख्स्तान र इरान प्रतिस्पर्धा गर्नेछन् भने तेस्रो स्थानको लागि हुने खेलमा भारत र नेपाल आमने सामने हुनेछन् ।
