काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा बर्डफ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपील गरेको छ ।
नगरपालिकाले सूचना जारी गरी वडा नं. २, ३ र ४ मा बर्डफ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो ।
सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ ।
रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागु गरेको छ ।
यसैगरी, नगरपालिकाले पन्छी फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तुरुन्तै सुरक्षित तवरले खाल्डोमा गाड्न आग्रह गरेको छ । कतै ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
