गोरखा मिडिया नेटवर्क प्रालिका नाममा महानगरले निकाल्यो १५ दिने सूचना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिलाई १५ दिनभित्र घरभाडा बुझाउन अल्टिमेटम दिएको छ । मंगलबार सूचना जारी गरी महानगरले १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रहम बुझाई आफ्नो सरसमान लैजान सूचना जारी गरेको हो । म्यादभित्र आफ्नो ग्यालेक्सी फोरके टेलिभिजन सम्बद्ध सरसमान लगी घर खाली गर्न र नगरे काठमाडौँ महानगरपालिका विवाद निरुपण (कार्यविधि) ऐन, २०७५ को दफा ७० बमोजिम लिलाम गरिने जनाएको छ ।

यसअघि काठमाडौँ महानगरपालिका वडा नम्बर ३ बस्ने मृगेन्द्रप्रसाद मिश्र समेत प्रतिवादी गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी)राई भएको ’भाडा असुल उपर गरी घर जग्गा खाली गराई पाऊँ’ भन्ने मुद्दामा काठमाडौँ महानगरपालिका न्यायिक समितिबाट २०८१ कात्तिक १४ गते वादी दाबी बमोजिमको घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गा समेत खाली गराइदिने ठहर्छ भनी निर्णय भई २०८२ साउन २८ गते उच्च अदालत पाटनबाट २ (दुई) महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्नू भनी काठमाडौँ महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी भएको थियो ।

निर्णय कार्यान्वयन गर्न आदेश दिएको ६ महिना पूरा भएकोले सामानहरू लिलाम गरिपाऊँ भनी मृगेन्द्र मिश्रको २०८३ वैशाख २१ मा निवेदन पेश भएकोले यो सूचना प्रकाशन गरिएको महानगरले जनाएको छ । रास्वपा सभापति रावि लामिछाने यही टिभीमा प्रवन्ध निर्देशक थिए ।

उनी टिभी छाडेर राजनीतिमा आए भने सहकारी ठगी प्रकरणमा जीबी राईलगायत फरार छन् । संचालकहरु फरार भएपछि टिभी बन्द भएको थियो । यही सहकारी ठगी प्रकरणमा रवि जेल परेका थिए भने अहिले धरौटीमा रिहा भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *