सहमतिका लागि वार्ता भइरहेका बेला अमेरिकी सेनाद्वारा दक्षिणी इरानमा आक्रमण

बीबीसी । अमेरिकी सेनाले दक्षिणी इरानमा नयाँ आक्रमण गरेको जनाएको छ । त्यसको निशाना इरानी क्षेप्यास्त्र स्थल र बारुदी सुरुङ बिछाउने प्रयास गरिरहेका डुङ्गाहरूलाई बनाइएको उसको भनाइ छ ।

अमेरिकी सेन्ट्रल कमान्डले वक्तव्यमा ‘आत्मरक्षाका लागि’ र ‘इरानी फौजबाट उत्पन्न खतराबाट हाम्रो सेनालाई जोगाउन’ आक्रमण गरिएको बताएको छ । सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले ‘युद्धविरामका क्रममा अमेरिकी सेनाले संयमपूर्वक आफ्नो सेनाको प्रतिरक्षा गरिरहेको’ उल्लेख गरेका छन् ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले अमेरिकासँगको कुराकानीमा केही प्रगति भएको तर लडाइँ अन्त्यका लागि तत्कालै सम्झौता नहुने बताएपछि यो हमला भएको छ ।

न्यूयोर्क टाइम्सका अनुसार हकिन्सले स्ट्रेट अफ होर्मुजस्थित इरानी जनसेनाको आधार रहेको दक्षिणी बन्दरगाह सहर बन्दर अब्बास क्षेत्रलाई आक्रमणको निशाना बनाइएको बताएका छन्।

इरानका सरकारी सञ्चारमाध्यमले विस्फोटको आवाज सुनेपछि बन्दर अब्बासका स्थानीय अधिकारीहरूले अनुसन्धान गरिरहेको जनाएका छन् । इरानले अमेरिकी आक्रमणबारे प्रतिक्रिया दिएको छैन ।

अमेरिका र इरानबीच हुने सम्भावित शान्ति सम्झौतामा पछिल्लो आक्रमणले कस्तो असर गर्छ भन्ने स्पष्ट भइसकेको छैन।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै पक्ष पक्षहरू सहमतिको नजिक पुगेको बताएका थिए। तर उनले लगत्तै आफूले वार्ताकारहरूलाई हतार नगर्न निर्देशन दिएको जनाएका छन्।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पनि सोमबार नै सम्झौता हुन सक्ने बताएका थिए। तर प्रवक्ता इस्माइल बाघेईको जवाफ थियो, ‘यो भन्नु सही हुन्छ कि हामी जारी छलफलमा धेरै विषयहरूमा एउटा निष्कर्षमा पुगेका छौँ… तर यसको अर्थ सम्झौतामा तत्कालै हस्ताक्षर हुने परिस्थिति छ भन्ने दाबी कसैले पनि गर्न सक्दैन।’

वरिष्ठ अधिकारीहरूको कुनै पनि खालको सफलतालाई महत्त्व नदिइरहेका बेला इरानका शीर्षस्थ वार्ताकार र विदेशमन्त्री अमेरिकासँगको सम्भावित सम्झौताबारे कतारका प्रधानमन्त्रीसँग कुराकानी गर्न दोहा पुगेको रोयटर्सले जनाएको छ।
अमेरिका र इरानका फौजले अप्रिल ८ तारिकदेखि युद्धविरामको पालना गरिरहेका छन्।

इरानले स्ट्रेट अफ होर्मुजबाट ढुवानी गर्ने जहाजहरूमाथि नियन्त्रण गरेको छ र अमेरिकी जल सेना इरानी बन्दरगाहहरूमा नाकाबन्दी गर्ने प्रयासमा छ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ तारिकमा इरानमाथि व्यापक स्तरको आक्रमण गरेपछि मध्यपूर्वभरि लडाइँ चर्किएको थियो। इरानले खाडीमा रहेका इजरेल र अमेरिकाका सहयोगी देशहरूमाथि आक्रमण गरेर त्यसको जवाफ दिएको थियो ।
स्ट्रेट अफ होर्मुज उसले कडाइका साथ नियन्त्रणमा लिएपछि विश्वव्यापी रूपमा तेलको मूल्य बढेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *