काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन साह विदेश भ्रमणमा जाने योजनामा नरहेको बताएका छन् ।
सोमबार सिंहदरबारमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री पोखरेलले सरकारको पहिलो एकसय दिनको कार्यव्यस्तताका कारण प्रधानमन्त्रीले हाल कुनै पनि देशको भ्रमण गर्ने सोच नबनाएको बताएका हुन् ।
उनले भने, ‘प्रधानमन्त्रीज्यू अहिले भारत मात्र होइन, अन्य कुनै पनि देशको भ्रमणमा जाने तयारीमा हुनुहुन्न । प्रधानमन्त्री सुरुवाती एकसय दिनको कार्ययोजना र लक्ष्यमा बढी केन्द्रित हुनुहुन्छ ।’
उनले सभापति रवि लामिछानेको भ्रमण पनि निजी वा पार्टीगत हुन सक्ने बताए । यसमा प्रधानमन्त्रीको भ्रमणको कुनै सम्बन्ध नरहेको बताए । उनले भने, ‘सभापतिज्यूको भ्रमण नितान्त निजी वा पार्टीगत हुन सक्छ, यसमा प्रधानमन्त्रीज्यूको कुनै सम्बन्ध छैन ।’
