काठमाडौँ । सुुर्खेतको वीरेन्द्रनगरमा काफल बेच्ने महिलामाथि नगरप्रहरीले दुव्र्यवहार गरेको घटनाले सामाजिक संजाल तातेको छ । यसका पक्ष विपक्षमा बहस भइरहेका छन् । कालीकोट घर भई हाल वीरेन्द्रनगर–३ सुर्खेत बस्ने धमिला चौलागाईलाई मंगलबार साँझ नगर प्रहरीले काफल पोखाइदिँदै दुव्र्यवहार गरेको थियो । तर घटनाको सर्वत्र विरोध भएपछि वीरेन्द्रनगर नगरपालिकाले १० हजार रुपैयाँ क्षतिपूर्ति दिएको छ । अनि यस कार्यमा संलग्न नगरप्रहरीलाई विभागीय कारबाही गरिने नगरपालिकाले बताएको छ ।
त्यो दृश्य केवल एउटा डालो पल्टिएको घटना थिएन, त्यो गरिबीमाथिको कठोर प्रहार थियो। एक आमाले पसिनाले कमाएको सानो आम्दानीलाई अपराधझैँ व्यवहार गरियो। जसले देश लुट्छन्, भ्रष्टाचार गर्छन्, उनीहरू शक्तिशाली बनेर सम्मानका साथ हिँडिरहेका छन्न् तर बिहानदेखि साँझसम्म पसिना बगाएर पेट पाल्न खोज्ने गरिबमाथि कानुन यति निर्दयी किन ? भन्दै प्रश्न उठेको छ ।
बालेन साह काठमाडौँको मेयर हुँदा यसरी नै सडकमा व्यापार गर्ने निशानामा परेका थिए । अहिले बालेन प्रधानमन्त्री बनेका छन् । बालेन प्रधानमन्त्री भएपछि देशभर सुकुम्बासी र सडक व्यापारी निशानामा परेका छन् । यस घटनालाई शासन जो आएपनि सोच परिवर्तन नभएको भन्दै टिप्पणी गरेका छन् ।
राजनीतिक विश्लेकषक मुमाराम खनालले नेपाल ’काफल’ बेच्नेलाई सजाय दिएर ’पासपोर्ट’ बेच्नेलाई पुरस्कृत गर्ने देश भन्दै कटाक्ष गरेका छन् । उनको टिप्पणी छ, ‘बकाइदा सरकारसँग कम्पनी दर्ता गरेर, प्रमाणपत्र लिएर र कर तिरेर चलाएका ’मसाज सेन्टर’मा नयाँ पुलिस अफिसर आउनेबित्तिकै असुलीको लागि पुरै व्यवसायमा आतंक सिर्जना गर्दा कोही बोल्दैनन् । तर सुदन गुरुङकी कन्यासँग रिसोर्टमा भएको पुलिस छानबिनमा सबैको टाउको दुख्छ । यथार्थमा दुवै पुलिस प्रशासनका गलत प्रवृत्तिहरू हुन् । तर नेपाल ’काफल’ बेच्नेलाई सजाँय दिएर ’पासपोर्ट’ बेच्नेलाई पुरस्कृत गर्ने देश हो । देउवा, ओली र दाहाल हुँदै बालेन्द्रसम्म आउँदा पनि उही ताल जारी छ।’
संविधानविद डा. भीमार्जुन आचार्यले यो घटनापछि लोक कल्याणकारी राज्यले यस्तो गर्न नहुने बताएका छन् । यसका लोक कल्याणकारी राज्ये हेक्का नराखेको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘संविधानले यो देशलाई लोक कल्याणकारी राज्य मान्छ । कल्याणकारी राज्य पुलिस राज्य भन्दा भिन्न हुन्छ । जसले धेरै कुराका अतिरिक्त दुई चीजको बढी डिमाण्ड गर्छ । एउटा, राज्य संचालकहरू कानून र संविधानको कठोर सीमामा बस्ने । दोस्रो, नागरिक त्यसमा पनि गरीब असाहयलाई राज्यले संरक्षण गर्ने । राज्यले रोजगारी, आवास आदिको प्रत्याभूति गर्न नसकेको अवस्थामा जीवन निर्वाहका लागि एउटा असहायले आवत जावतलाई असुविधा नहुने गरी सडक छेउमा काफल बेच्न सक्छ ।’
राजनीतिक विश्लेषक डम्बर खतिवडाले सडक किनारमा एकक्षण काफल बेच्दा कुन आकास खस्ने रैछ ? भन्दै सरकारमाथि प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘के साह्रो दुष्ट भाका हौ मान्छे, के राज्यको मूल चरित्र सधै दमन र राक्षसीपन हुनु पर्ने हो ? परामर्श, सहयोग र,सहकार्य विधि हुन सक्दैन ? सडक किनारमा एकक्षण काफल बेच्दा कुन आकास खस्ने रैछ ?’
जेनजी अगुवा रक्षा बमले पनि सरकारको प्रवृत्तिप्रति आपत्ति जनाएकी छन् । उनले भनेकी छन्, ‘सुर्खेतको विरेन्द्रनगरमा काफल बेचिरहेकी एउटी आमालाई नगर प्रहरीले लछारपछार गर्दै उनले बोकेको डोकोभित्रको काफल भुइँमा पोखिएको दृश्य देख्दा केही दिनअघि मैले पढेको डाक्टर नवराज केसीको ‘शून्यको मूल्य”पुस्तकको सम्झना आयो। केसीले पुस्तकमा कर्णालीका आमाहरूको कथा उल्लेख गर्दै भनेका थिए, ‘यो पुस्तक ‘आमार्थतन्त्र’ को कथा हो। अर्थात् आमा र अर्थतन्त्र। सराहना, प्रशंसा तथा उत्प्रेरणाबिनै खुरुखुरु हरेक घरमा आमाहरूले धानेका अर्थ संरचनाका कथा हो।’ यस पुस्तकले सम्झाएको आमार्थतन्त्रको बारेमा बुझेको भए सायद राज्यले आज ती आमासँग यस्तो व्यवहार गर्दैनथ्यो। आज उनको डोकोभरिको काफल पोखिँदा त्यससँगै एउटी आमाको आत्मसम्मान पनि पोखिएको छ। काठमाडौँमा सडक व्यापारी र सुकुम्बासीमाथि गरिएको अमानवीय व्यवहारको निरन्तरता आज कर्णालीकी एउटी आमाको डोकोसम्म आइपुगेको छ। एउटा काफलको डोकोले तिम्रो सहरलाई कुरूप बनाएको थिएन। यस्तै कर्म गरेर श्रममा आफ्नो जीवनको मूल्य खोज्नेहरूको पसिनाको सुगन्धले तिम्रो सहरलाई साँच्चै सुन्दर बनाइरहेको छ।’
निमुखाले दुःख गरेर बेच्न ल्याएको दुई मुठी काफल फालिदिएर कुनै नगर सम्पन्न र सभ्य हुँदैन । गरिखानेको पीडा नबुझ्ने आत्मा विनाको शहर त चिहानघारी पो हो । सडकमा अलपत्र परेका कुकुर, बिरालोप्रति त सद्भाव देखाउनुपर्छ भने मानिसप्रति सद्भाव देखाउन नसक्ने त मुर्दाले मात्र हो । सत्ताको मानसिकता युरोप–अमेरिका स्टाण्डरको छ,जनताको हालत ढलबग्ने खोला किनार बस्ने, निगुरो, काफल बेचेर छाक टार्ने खालको छ । यो ग्याप नहट्दासम्म काफल काण्ड, सुकुम्बासी बस्तीमा डोजर आतंक आदि इत्यादि पचाउन हामी अभिसप्त छौं ।
