काठमाडौँ । नेपाली कांग्रेसले ‘निर्वाचन ब्यूरो’मा १७ सदस्य मनोनयन गरेको छ । कांग्रेस सभापति गगनकुमार थापाले उपसभापति पुष्पा भुसालको संयोजकत्वमा गठित ब्यूरोमा बुधबार १७ सदस्य मनोनयन गरेका हुन् ।
ब्यूरोको सदस्यमा जीवन परियार (कास्की), अब्दुल सत्तार (गोरखा), नानु बाँस्तोला (काठमाडौँ), सन्दीप राना (पाल्पा), वंशलाल तामाङ (सिन्धुपाल्चोक), प्रकाश तिवारी (स्याङ्जा), महेश ढुङ्गेल (काठमाडौँ), दीपक महतो (सर्लाही), हरि पोखरेल (झापा) र सुदर्शन आचार्य (सिन्धुपाल्चोक) छन् ।
यस्तै, रोहित पौडेल (काठमाडौँ), डा भूमिराज चापागाईं (नवलपुर), सिद्धार्थ थापा (धनकुटा), नवराज त्रिपाठी (बारा), तेजविनोद पौडेल (स्याङ्जा), जगनाथ लामिछाने (काठमाडौँ) र मिलनराज बर्तौला (काठमाडौँ) छन् ।
ब्यूरोलाई पार्टीको देशव्यापी निर्वाचन ‘डाटाबेस’ निर्माण गर्ने र निर्वाचन तयारीलाई तथ्याङ्कमा आधारित र वैज्ञानिक बनाउने लक्ष्यसहित कार्यादेश पनि तोकिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
ब्यूरोले ब्युरोले सात सय ५३ स्थानीय तह छ हजार ७४३ वडा र सात वटै प्रदेशका लागि विस्तृत निर्वाचन योजना तयार गर्ने, मतदाताको मनोविज्ञान र वस्तुस्थितिको विश्लेषण गरी उम्मेदवार छनोट प्रणालीलाई तथ्यपरक बनाउने जनाइएको छ ।
यस्तै, निर्वाचन ब्यूरोअन्तर्गत सात जना विज्ञको ‘प्राविधिक समिति’ रहने, त्यसमा डाटा विश्लेषण, अनुसन्धानकर्ता, राजनीतिक रणनीतिकार र डिजिटल विज्ञहरू समावेश हुनेछन् ।
यस्तै, प्रदेशस्तरमा सूचना सङ्कलनका लागि ‘अपरेसनल टिम’ र स्थानीयस्तरसम्म ‘सूचनादाता’ को सञ्जाल परिचालन र उक्त संयन्त्रले सामाजिक सञ्जालको प्रवृत्ति विश्लेषण, साप्ताहिक ‘अपडेट’ र मासिक विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने गरी कार्यादेश दिइएको कांग्रेसले जनाएको छ ।
