ट्रम्पका आलोचक मासी केन्टकी प्रारम्भिक निर्वाचनमा पराजित

रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति असन्तुष्टि जनाउँदै आएका रिपब्लिकन नेता थोमस मासी केन्टकीको प्राथमिक निर्वाचनमा पराजित भएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्प समर्थित पूर्व नेभी सिल एड गलरिनले मासीलाई हराएका हुन् ।

मासीले यौन अपराधी जेफ्री इपिस्टिनसँग सम्बन्धित न्याय विभागका फाइल सार्वजनिक गर्न पहल गरेपछि ट्रम्पसँग उनको विवाद चुलिएको थियो । ट्रम्पले उनको विरोधमा खुलेर प्रचार गरेका थिए भने इजरायल समर्थक समूहहरूले ठूलो रकम खर्च गरेका थिए ।

यो प्रतिस्पर्धा अमेरिकी प्रतिनिधिसभाको इतिहासकै सबैभन्दा महँगो प्राथमिक निर्वाचन बनेको छ । विज्ञापनमा मात्रै ३२ मिलियन डलरभन्दा बढी खर्च भएको जनाइएको छ ।

मासी ट्रम्पको ‘बिग ब्युटिफुल बिल’ विरुद्ध मतदान गर्ने केही रिपब्लिकनमध्ये एक थिए । साथै उनले इरान युद्ध र इजरायललाई अमेरिकी सहयोगको पनि विरोध गरेका थिए । मंगलबार राति आयोजित कार्यक्रममा ट्रम्पले मासीबारे टिप्पणी गर्दै भने, ‘उनी खराब व्यक्ति हुन्, उनले हार्नैपथ्र्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *