काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषयमाथि अनुसन्धान हुनुपर्ने बताएकी छन् ।
सामाजिक सञ्जालमार्फत उनले महिला चाहे स्वदेशी होस् कि विदेशी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्ने बताएकी हुन् ।
उनले भनेकी छन्, ‘महिला चाहे स्वदेशी होस् कि विदेशी, आखिर यो धर्तीकी आमा हुन् । देखेका सबै कुरा सत्य नहुन पनि सक्छन् तर सत्य जसरी बाहिर छरपस्ट आइरहेका कुराहरूको अनुसन्धान भने पक्कै हुनुपर्छ । महिलासँग जोडिएको मातृत्वजस्तो संवेदनशील कुरा झन् प्रमाणसहित अनुसन्धान हुन जरुरी छ। पार्टीभन्दा ठूलो देश र देशभन्दा ठूलो यो संसार हो । यहाँ कसैलाई अन्याय हुनुहुँदैन र कसैले अन्याय गर्छ भने, चाहे त्यो आफ्नै घरको सदस्य नै किन नहोस्, हामीले गलतलाई गलत भन्न छोड्नु हुँदैन।‘
