विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पार्ने सांसदलाई कारबाही गर्न सांसदहरुको माग

काठमाडौँ । विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पार्ने सांसदलाई कारबाहीको माग गरिएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा सांसदहरुले नाइजेरियन महिलालाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदले गर्भवती बनाएको विषयकाबारेमा यथार्थ जानकारी गराउन माग गरेका हुन् ।

बैठकमा नेपाली कांग्रेसकी सांसद निनुकुमारी कर्ण र नेपाली कम्युनिस्ट पार्टीकी सांसद पार्वती विकले घटनाको बास्तविकता सार्वजनिक गर्न माग गरेका हुन् । सांसद विकले सत्तारुढ पार्टीका सांसदले गरेको भनिएको घटना के हो सदनमा स्पष्ट पार्न आग्रह गरिन् ।

उनले भनिन्, ‘सत्तारुढ पार्टीका सांसदले विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको विषय सामाजिक सञ्जालमा भाइरल छ । यथार्थ घटना के हो यो सदन स्पष्ट हुन चाहन्छ ।’

त्यस्तै सांसद कर्णले विदेशी महिलालाई प्रेम जालमा फसाएर भावनात्मक व्ल्याकमेल गरेको बताइन् । उनले विदेशी महिलालाई त नछाड्ने सांसदले आफ्नो मुलुकका महिलालाई कसरी सम्मान गर्न सक्छ भन्दै प्रश्न गरिन् ।

मोरङ–२ बाट निर्वाचित सांसद कृष्णकुमार कार्कीले ती महिलालाई प्रेम जालमा पारेर गर्भवती बनाएर अलपत्र पारेर भागेको विषयले अहिले सामाजिक संजालमा चर्चा पाएको छ । घटना सार्वजनिक भएपछि सोमबारको बैठकबाट सांसद कार्की सम्पर्कविहीन भएका छन् ।

सोमबारको संसद बैठकमा बोल्न समय मागेका कार्की यो समाचार सार्वजनिक भएपछि बैठकबाट बाहिरिएका थिए । सभामुख डीपी अर्यालले बोल्नका लागि तीन पटकसम्म बोलाउँदा पनि नआएपछि अर्का सांसदलाई बोल्न समय दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *