सुलभ न्याय पाउने व्यवस्था खोजौं, तर लाल्टिनलाई राजनीति गर्ने औजार नबनाऔंः सांसद न्यौपाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानले नेपाल बारलाई लालटिनलाई राजनीतिको औजार नबनाउन आग्रह गरेका छन् ।

नेपाल बारले न्यायका लागि आज दिउँसै लालटिन बाल्ने घोषणा गरेपछि न्यौपानेले यस्तो बताएका हुन् । उनले बारलाई बरु गरिबले न्याय नपाएको मुद्दामा लालटिन बाल्न सुझाव दिएका छन् ।

उनले भनेका छन्, ‘लाल्टिन बाल्नै मन छ भने गरिबले न्याय नपाएको मुद्दामा बाल्नुस् । ढिलो न्याय भएर मानिसको जीवन सकिएको ठाउँमा बाल्नुस् । गलत फैसला भएर परिवार उजाडिएको ठाउँमा बाल्नुस् ।’

यस्तो छ न्यौपानेको भनाई

के रे के रे,  लाल्टिन बाल्ने रे! अब हाँसौं कि रोऔं?

नवोदित कानुन व्यवसायीका पीडा देख्दा आँखा चिम्लिने बार, गरिब असहायले न्याय नपाउँदा कानमा तेल हालेर बस्ने बार, न्याय सम्पादनमा विचलन आउँदा मौन व्रत बस्ने बार, विवादास्पद फैसला आउँदा जिब्रो टोक्ने बार, भ्रष्टाचारका मुद्दा तामेलीमा जाँदा निद्रामा पर्ने बार, राजनीतिक कोटामा न्यायाधीश भर्ती हुँदा “सबै ठीक छ” भन्ने बार, कर्मचारीले राजनीति गर्दा चुप लाग्ने बार, भनसुन र पहुँचका भरमा फैसला भएको गाइँगुइँ चल्दा घाँटी सफा नगर्ने बार, गरिब वकिलको स्वास्थ्य बीमाको कुरा उठ्दा बाटो बदल्ने बार, आज अचानक लाल्टिन बोकेर न्याय बचाउन निस्कने रे !

अचम्म छ। समाजमा आगो लाग्दा इनार खोज्न ननिस्किने, घर जलिसकेपछि धुवाँ देखेर बाल्टिन बोकेर हिरो बन्न निस्किने शैली पनि कस्तो शैली हो!सामाजिक अभियन्ता बन्ने दाबी गर्ने, तर समाजका घाउमा कहिल्यै मल्हम नलगाउने। न्यायको पहरेदार भन्ने, तर अन्यायको चिच्याहट सुन्नेबित्तिकै मोबाइल साइलेंटमा राख्ने। अनि आज एकाएक लाल्टिन बोक्दै क्रान्तिको अभिनय !
लाल्टिन बाल्नै मन छ भने गरिबले न्याय नपाएको मुद्दामा बाल्नुस् । ढिलो न्याय भएर मानिसको जीवन सकिएको ठाउँमा बाल्नुस् । गलत फैसला भएर परिवार उजाडिएको ठाउँमा बाल्नुस् । गलत निर्णय गर्नेको जिम्मेवारी नतोकिएको ठाउँमा बाल्नुस् । न्याय खोज्दा नागरिकका जुत्ता च्यातिने अनि पहुँचवालाको फाइल लिफ्ट चढेर माथि पुग्ने प्रणालीमा बाल्नुस् । नत्र भोलिदेखि जनताहरूले यसो नभनुन् “यो न्यायको लाल्टिन होइन, अवसरको टर्च रहेछ। जति राजनीतिक हावा चल्यो, त्यतैको ब्याट्री हालेर बल्ने!”

न्यायपालिकालाई सुधार गर्नुपर्छ भने पुनर्संरचनाको कुरा गरौं, संस्थागत परिवर्तनको कुरा गरौं, नागरिकले छिटो र सुलभ न्याय पाउने व्यवस्था खोजौं। तर लाल्टिनलाई पनि राजनीति गर्ने औजार नबनाऔं। कम्तिमा आजको प्रतिनिधि सभामा न्यायालयको माया गर्ने स्वतन्त्र न्यायपालिका स्थापित गर्ने इच्छाशक्ति राख्ने र न्यायपालिकाको शिर उचो राख्नका लागि खबरदारी गर्ने कानुन व्यवसायीहरु छन् भन्ने कुरा नभुलौं । किनकी जनताले अब उज्यालो खोजेका छन्, उज्यालोको नाटक होइन। धन्यवाद जय देश जय न्यायालय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *