काठमाडौं । नेपाल बार एशोसिएसनले सर्वोच्च अदालत प्रशासनले रिट र निवेदनहरु दर्ता गर्न अस्वीकार गरेको विरोधमा मंगलबार न्यायको खोजीका लागि दिउँसै लालटिन बाल्ने निर्णय गरेको छ ।
सोमबार कामु प्रधानन्यायाधीश सपना मल्ल प्रधानलाई भेटेपछि बसेको बार बैठकले सर्वोच्च प्रशासनबाट ‘अनपेक्षित क्रियाकलाप र हर्कत’ भएको ठहर गर्दै यस्तो निर्णय गरेको हो । बार महासचिव केदार कोइरालाले बार परिसरमा कानुन व्यवसायीको विरोधसहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने निर्णय भएको जानकारी दिए ।
सर्वोच्च अदालतसमक्ष पर्न आएका रिट निवेदन र निवेदनहरु दर्ता नगरी सर्वोच्च अदालत प्रशासनबाटै दरपीठ गरी फर्काएका कारण न्यायमार्गमा अवरोध भएको बारको ठहर छ ।
बारको निर्णयमा भनिएको छ, ‘मिति २०८३ जेठ ५ गते दिनको १ः१५ बजे नेबाए प्राङ्गणमा लालटीन बाली अदालतको प्रशासनको उपरोक्तानुसारको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोध सहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्ने ।’
बारले दरपीठ उपरको निवेदन विनाकारण दर्ता नगरी राख्ने बिषय प्रशासनको अधिकार बाहिर न्याय मार्गमा अवरोध पुर्याउने कार्य रहेको ठहर गरेको छ । बारले न्याय प्रशासनको अन्तिम जिम्मेवारी बहन गर्ने कामु प्रधान न्यायाधीशको आदेश समेत पालन नगर्ने प्रशासनको रवैयालाई ‘असाधारण र अप्राकृतिक’ भनेको छ ।

