पपुलिष्ट शक्तिहरूसँग परिवर्तनलाई निरन्तरता दिने क्षमता छैनः महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद समाजवादको विकल्प हुन नसक्ने बताएका छन् । आइतबार ३३ औँ मदन आश्रित स्मृति दिवस तथा जनताको बहुदलीय जनवाद र युवा विषयक विमर्श कार्यक्रममा महासचिव पोखरेलले विचारधारासहितको सक्षम र लोकप्रिय नेतृत्वबिनाको राजनीति जनतालाई भ्रममा पार्ने माध्यम मात्र बन्ने दाबी गरेका छन् ।

उनले समाज परिवर्तनका लागि वैचारिक स्पष्टता, राजनीतिक क्षमता र संगठनात्मक बल आवश्यक पर्ने बताए । उनले केवल लोकप्रियताका आधारमा विकल्प निर्माण हुन नसक्ने जिकिर गर्दै वैचारिक धरातल कमजोर भए पपुलिज्मको सिकार बन्ने खतरा रहने बताए ।

महासचिव पोखरेलले अहिले राज्य सञ्चालनमै पपुलिष्ट शक्तिहरू रहेको बताए । जनताले उनीहरूलाई परीक्षणको अवसर दिएको उल्लेख गर्दै उनले परिणामले नै वास्तविकता उजागर गर्ने दाबी गरे ।

उनले भने ‘पपुलिष्टहरू नै राज्यको नेतृत्वमा छन् । जनताले हेरौँ है भनेर अवसर दिएका छन् । उनीहरूले कस्तो काम गर्छन् भन्ने कुरा समयले देखाउँछ ।’ उनले पछिल्लो समय देशमा दल, नेता र राजनीतिक प्रणालीप्रति नकारात्मक धारणा निर्माण गरिएको उल्लेख गर्दै त्यसले वास्तविक उपलब्धिलाई ओझेलमा पारेको बताए । उनले पपुलिष्ट शक्तिहरूसँग ती परिवर्तनलाई निरन्तरता दिने क्षमता नरहेको जिकिर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *