काठमाडौँ । पुज्यनीय टुल्कु छ्याेग्याल रिन्पोछेले स्वयम्भूस्थित थेगसुम छोयफेलिङ गुम्बामा धर्म, करुणा, बोधिचित्त तथा मानव जीवनमा आध्यात्मिक मार्गको महत्वबारे गहन प्रवचन प्रदान गरेका छन् ।
बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समितिको आयोजनामा शनिबार सम्पन्न धर्मदेशना तथा अमितायुस बुद्ध अभिषेक कार्यक्रममा रिन्पाेछेले चार आर्य सत्यकाे विषयमा प्रवचन दिएका हुन् ।
प्रवचनका क्रममा रिन्पोछेबाट दुःख भनेको के हो, मानिसको जीवनमा दुःख किन उत्पन्न हुन्छ तथा त्यसका विभिन्न कारणहरूबारे विस्तृत रूपमा प्रकाश पारिएको थियाे ।
उनले मनलाई शान्त र सकारात्मक बनाउँदै दुःख तथा मानसिक तनाव कम गर्न सहयोग पुर्याउने श्वासप्रश्वाससँग सम्बन्धित ध्यान अभ्यास पनि सिकाएका थिए । उक्त ध्यान अभ्यासले उपस्थित श्रद्धालुहरूलाई आन्तरिक शान्ति र सकारात्मक ऊर्जाको अनुभूति गराएको सहभागीहरूले बताए ।
रिन्पोछेको अमूल्य उपस्थिति तथा आशीर्वचनले उपस्थित सम्पूर्ण श्रद्धालु एवं सहभागीहरूलाई गहिरो आध्यात्मिक प्रेरणा प्रदान गरेको अनुभूति भएको आयोजकले जनाएको छ ।
कार्यक्रममा ठूलो संख्यामा बौद्धमार्गीहरुको सहभागिता रहेको थियो ।






































