जुम्लाका स्थानीय तह पूर्णखोप सुनिश्चितता घोषणा

जुम्ला। जुम्लाका आठवटा स्थानीय तहमध्ये हालसम्म छवटा स्थानीय तहले पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् ।

जन्मदेखि २३ महिनासम्म तथा नियमित खोप तालिकामा छुटेका सम्पूर्ण बालबालिकालाई खोप लगाइसकेपछि उक्त स्थानीय तहले पूर्णखोप सुनिश्चितता घोषणा गरेका हुन् ।

बिहीबार चन्दननाथ नगरपालिका, हिमा र गुठीचौर गाउँपालिकाले एक कार्यक्रमका बीच एकसाथ पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका छन् । चन्दननाथभित्रका २२४ बालबालिकालाई पूर्णखोप प्रदान गरिएको स्वास्थ्य शाखा संयोजक क्षेत्र बुढ्थापाले जानकारी दिए ।

पालिकालाई पूर्णखोप सुनिश्चिता र दिगोपना पालिका घोषणा गर्दै उपप्रमुख रामदेवी खड्काले खोप लगाउन गाउँगाउँ र घरघरसम्म पुगेर सचेतना जगाउने काममा भूमिका खेलेका महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको अथक प्रयासले सम्भव भएको बताउँदै आगामि दिनमा त्यसलाई दिगोपना दिनका लागि पनि उत्तिकै भूमिका खेल्नुपर्नेमा जोड दिए ।

हिमा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन रावतका अनुसार गाउँपालिकाका सबै वडाका १६ देखि २३ महिनासम्मका सबै बालबालिकाले १५ महिनाको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार पाउनुपर्ने सबै खोप दिलाइ पूर्णखोप पाएको सुनिश्चित गरिएकाले गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको जानकारी दिए ।

त्यसैगरी, गुठीचौर, सिञ्जा, तिला गाउँपालिकाले पालिकाभित्रका सबै बालबालिकाले खोप प्राप्त गरेसँगै गाउँपालिकालाई पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा गरिएको जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *