काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकता (कर प्रस्तावबाहेक)माथि छलफलका लागि आगामी जेठ ४, ५ र ६ गतेका दिनहरू तोकिएको छ ।
बिहीबार राति अबेरसम्म चलेको बैठकमा सभामुख डोलप्रसाद अर्यालले उक्त प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती दिनहरू तोकेका हुन् । सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ ४ गतेको बैठकको एक घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिए ।
सभामुख अर्यालले उक्त छलफलको टिपोट गर्न अर्थ मन्त्रालय र सभाका सचिवालयका कर्मचारीलाई निर्देशन दिए । सभाको आजको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति गणेश पराजुलीले मस्यौदा समितिको प्रतिवेदनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहे पनि उक्त प्रस्ताव आजका लागि कार्यसूचीबाट हटाइएको छ ।
प्रतिनिधिसभाको अर्काे बैठक आगामी जेठ ४ गते सोमबार बिहान ११ बजे बस्नेछ ।
