अमेरिकामाथि स्कटल्याण्डको जित

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत स्कटल्याण्डले अमेरिकाविरुद्ध प्रभावशाली जित निकाल्दै प्रतियोगितामा महत्त्वपूर्ण २ अंक जोडेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा भएको खेलमा स्कटल्याण्डले उत्कृष्ट ब्याटिङ र कसिलो बलिङ प्रदर्शन गर्दै अमेरिकामाथि डकवर्थ लुइस पद्दतिको आधारमा २ रनको जित निकालेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४७ ओभरमा ६ विकेट गुमाएर ३ सय २१ रनको बलियो योगफल तयार पारेको थियो। टोलीका लागि फिनाले म्याक्रेथ ले ७७ रनको संयमित इनिङ्स खेले । उनले १०२ बलमा ६ चौका र १ छक्का प्रहार गरे ।

यस्तै म्याथेउ क्रसले तीव्र गतिमा रन जोड्दै ३२ बलमै ५८ रन बनाए । उनको इनिङ्समा ८ चौका र २ छक्का समावेश थियो । ब्रान्डन म्याकमुलेनले पनि ४० बलमा ५५ रन बनाउँदै टोलीको स्कोर उकास्न महत्त्वपूर्ण भूमिका खेले ।

खेलको अन्त्यतिर मार्क वाटt र मिकेल लिक्सले आक्रामक ब्याटिङ गर्दै क्रमशः २५ र २८ रन जोडेपछि स्कटल्याण्डले ३ सयभन्दा माथिको चुनौतीपूर्ण लक्ष्य खडा गर्न सफल भयो ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रभाल्कर र जस्दिप सिंहले समान २ विकेट लिए भने शुभम रान्जाने र मिलिन्द कुमारको नाममा १–१ विकेट रह्यो।

वर्षाका कारण ३२ ओभरमा झारिएको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो । सुरुवात राम्रो देखिए पनि स्कटल्याण्डका बलरहरूले नियमित अन्तरालमा विकेट लिँदा अमेरिका लक्ष्य नजिक पुग्न सकेन ।

जितसँगै स्कटल्याण्ड ३० खेलबाट ३८ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । २५ खेलबाट ३६ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *