काठमाडौं । सभामुख डीपी अर्यालले नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले मंगलबारको प्रतिनिधिसभा बैठकमा बोलेको विषय संसद्को रेकर्डबाट हटाउन रुलिङ गरेका छन् ।
थापाले मंगलबार बोलेको विषयमा रास्वपा सांसद मनिष खनालले बुधबार पनि रेकर्डबाट हटाउन माग गरेका थिए । त्यसपछि सभामुखले उनको अभिव्यक्ति रेकर्डबाट हटाउन संसद सचिवालयलाई रुलिङ गरेका हुन् । एमाले उपाध्यक्षसमेत रहेका बादलले मंगलबारको संसद् बैठकमा नेपाली सेनाको चर्को आलोचना गरेका थिए ।
उनले राष्ट्रिय झन्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन बसेको आरोप लगाए ।
उनले भनेका थिए, ‘देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मूकदर्शक बन्यो ? लिपुलेकमा अतिक्रमण हुँदा बेखबर हुँदा त्यही सेनाले सुकुमवासी बस्तीमा किन परेड खेल्दैछ ?अनि असंलग्न नीतिको खिल्ली उडाउँदै सशस्त्र टीओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ ? रास्वपाले देश र जनताको लागि दशकौदेखि अतुलनीय योगदान, बलिदान तथा विलक्षण प्रतिभा वा क्षमताबाट प्राप्त गरेको कदापी हैन । यो सफलता त दशकौँदेखि तत्कालिन सत्ताधारी दलहरुले गरेका कमजोरीहरुको योगफल, एआइ र अल्गोरिदमको जादु र विश्व भूराजनीतिक दृश्य र अदृश्य प्रभावहरुको कुल परिणाम थियो ।’
