किसानको समस्या पहिचान गर्दै अलैँची महासङ्घ

भोजपुर । जिल्लाका अलैँची किसानको समस्या पहिचान गर्दै उत्पादन, गुणस्तर अभिवृद्धि तथा प्रभावकारी बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यका साथ नेपाल अलैँची व्यवसायी महासङ्घले किसानलक्षित कार्यक्रम सञ्चालन गरेको छ । अलैँचीखेतीमा देखिने विभिन्न रोग, कीरा तथा प्राकृतिक जोसखमको नियन्त्रणसँगै गुणस्तरीय उत्पादनमा जोड दिने लक्ष्यले कार्यक्रम सञ्चालन हो ।

महासङ्घको आयोजनामा यहाँको रामप्रसादराई गाउँपालिकामा व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका किसानको समस्या पहिचान गर्न विशेष कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, प्राविधिक तथा किसानको सहभागिता थियो । सहभागी किसानले आफ्नो बगानमा देखिएका विभिन्न रोग, उत्पादन घट्नुका कारण, माटो तथा हावापानीअनुसार उपयुक्त जात छनोटजस्ता विषयमा जिज्ञासा तथा अनुभव प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाल अलैँची व्यवसायी महासङ्घका अध्यक्ष दीपक नेपालले किसानलाई आवश्यक सहयोग गर्ने लक्ष्यले कोशी प्रदेश सरकारसँगको सहकार्यमा प्रदेशका विभिन्न जिल्लामा यस्ता कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार अलैँचीखेतीमा देखिएका समस्या पहिचान गर्दै किसानलाई आवश्यक प्राविधिक ज्ञान, रोग नियन्त्रण विधि तथा उत्पादन सुधारका उपायबारे जानकारी प्रदान गरिँदै आएको छ ।

उनले किसानले उत्पादन गरेको अलैँची सिधै व्यवसायीसँग जोड्ने वातावरण तयार गर्न महासङ्घले सहजीकरण गरिरहेको बताए । “हामीले किसानलाई बिचौलियाबिना नै बजारसम्म पहुँच पुर्याउने प्रयास गरिरहेका छौँ”, उनले भने, “यसले किसानको आम्दानी वृद्धि हुनुका साथै उनीहरूको उत्पादनले उचित मूल्य पाउने अपेक्षा गरेका छौँ ।”

रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राईले गाउँपालिकामा अलैँची किसानको राम्रो आम्दानीको स्रोत भएकाले यसको विकास र विस्तारमा स्थानीय तहले विशेष ध्यान दिएको बताए । उनका अनुसार व्यावसायिक रूपमा अलैँचीखेती गर्दै आएका किसानलाई प्रोत्साहन गर्न आवश्यक प्राविधिक सहयोग, तालिम तथा भूगोलअनुसार उपयुक्त खेती प्रणालीमा जोड दिइएको छ ।

त्यसैगरी, अलैँची किसान केन्द्र इलामका प्रमुख राजु ढकालले अलैँची नेपालको प्रमुख नगदेबालीमध्ये एक भएको उल्लेख गर्दै किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको बताए । उनका अनुसार चालु आर्थिक वर्षको चैतसम्म नेपालबाट करिब १० अर्ब ७० करोड रुपैयाँ बराबरको अलैँची विदेश निर्यात भएको छ ।

अलैँची किसानलाई लक्षित गरेर प्रोत्साहनका कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप राईले बताए । अलैँची किसानको राम्रो आम्दानीको स्रोत रहेको बताउँदै उनले खेती विस्तारका लागि गाउँ कार्यपालिकाले गरेका निर्णय कार्यान्वयनमा आफू प्रतिबद्ध रहेको उनले जानकारी दिए ।

नेपाल अलैँची व्यवसायी सङ्घ जिल्ला शाखा भोजपुरका अध्यक्ष राजेश विष्टले जिल्लामा अलैँचीखेतीबाट धेरै किसान लाभान्वित भए पनि प्राविधिक ज्ञान अभावका कारण अझै विभिन्न समस्या झेल्नुपरेको बताए । उनले किसानको समस्या पहिचानसँगै समाधानमुखी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको औँल्याए ।

“जिल्लाका धेरै किसान व्यावसायिक रूपमा अलैँचीखेतीमा संलग्न छन्”, अध्यक्ष विष्टले भने, “तर पर्याप्त प्राविधिक ज्ञान नहुँदा उत्पादनमा गिरावट, रोगको समस्या तथा बजार व्यवस्थापनमा कठिनाइ देखिएको छ । त्यसैले यस्ता कार्यक्रममार्फत किसानलाई ज्ञान र सीप हस्तान्तरण गर्न हामीले प्राथमिकता दिएका छौँ ।”

महासङ्घले सञ्चालन गरेको यस कार्यक्रमले किसानका समस्या नजिकबाट बुझ्न, समाधानका उपाय पहिचान गर्न तथा उत्पादनलाई गुणस्तरीय बनाउँदै बजारसँग प्रत्यक्ष जोड्ने सहयोग पुग्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष बद्री श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *