काठमाडौं । नेपाल ‘ए’ले अभ्यास खेलमा लगातार चौथो जित निकालेको छ । सोमबार दिउँसो भएको खेलमा चौथो जित निकाल्ने क्रममा नेपालले अमेरिकालाई ७ रनले पराजित गरेको हो ।
जितको लागि २ सय ६५ रनको विजयी लक्ष्य पछ्याएको अमेरिकाले ४९.१ ओभरमा अलआउट हुँदै २ सय ५७ रन जोडेको हो । अमेरिकाको लागि शेहान जयसूर्याले अर्धसतक बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । जयसूर्याले ६७ बल खेल्दै ५ चौका र एक छक्काको मद्दतमा ७१ रन बनाए । यस्तै शुभम रान्जानेले ४७, शयान जहाँगिरले ४१, स्मित पटेलले ३३, कप्तान साइतेजा मुक्कामल्लले १६ र मिलिन्द कुमारले ११ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
नेपालको लागि शेर मल्लले ७.१ ओभरमा एक मेडन राख्दै ३० रन दिएर चार विकेट लिँदा बासिर अहमदले तीन तथा शाहाब आलम र पवन सरार्फले समान एक/एक विकेट लिए ।
यसअघि मुलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २ सय ६४ रन बनाएको थियो । नेपालको लागि सन्दीप जोराले सतक पूरा गरे । उनले १ सय १५ बल खेल्दै ९ चौका र ४ छक्काको मद्दतमा १ सय ११ रन बनाए । यस्तै बासिर अहमदले ३८, मयान यादवले २४, पवन सर्राफले २० र नारायण जोशीले १६ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।
अमेरिकाको लागि सौरभ नेत्रभाल्करले तीन, जस्दिप सिंहले २ तथा शुभम रानाज्ने, मोहम्मद मोहसिन, मिलिन्द कुमा र रुशील उगारकरले समान एक/एक विकेट लिए ।
